Ad image

जनप्रतिनिधिद्वारा प्रधानाध्यापकमाथि कुटपिट

मालश्री खबर
मालश्री खबर ३ पुष २०७९, आईतवार
2 Min Read
Aa

मालश्री खबर, पुस ०२, रोल्पा । तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँमा रहेको देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि त्यसै वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् ।

वडाअध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गर्नुभएकाे हाे । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि चुनाव गर्ने विषयमा स्कुल नजिक पुग्दै गर्दा वडाध्यक्ष आँसेसहित उनका दुई छोरा तिलक र सागर (सुरज) बस्नेतले आक्रमण गरेको प्रधानाध्यापक बस्नेतले जानकारी दिनुभयो ।

‘विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छान्नका लागि सातौँ पटक बैठक बस्दा पनि सहमति हुन सकेन,’ प्रधानाध्यापक बस्नेतले भन्नुभयो, ‘उनीहरूले चुनाव गर्नैपर्छ भनेपछि शुक्रवार चुनावको तयारी थियो । तर वडाध्यक्षले मदिरापान गरेर ममाथि हातपात गरे र उनका दुई छोराले अझ बढी कुटपिट गरेका कारण घाइते भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएको छु ।’

दायाँ छाती, टाउको, चिउँडो, आँखा, नाक, कान र दाँतमा चोट लागेको पीडित प्रधानाध्यापकले बताउनुभयो । उहाँका अनुसार वडाध्यक्षको समूहले अस्थायी तथा करारमा रहेका शिक्षकलाई प्रधानाध्यापक बनाउन दबाब दिँदै आएका छन् । उनीहरूले गर्ने दादागिरीले आफूलाई गाउँमा बस्न सुरक्षा चुनौती भएको उहाँले दुःखेसो गर्नुभयो ।

- Advertisement -
Ad image

यता वडाध्यक्ष आँसे बस्नेतले झगडा हुँदा दुवैबीच हानाहान भएको र पछि आफ्नो छोरा तिलक र सागरले पनि हानेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो, ‘झगडा सामाजिक विषयमा भएको हो । अहिले व्यक्तिगतजस्तो भयो । जनप्रतिनिधिका हिसाबले नहुनुपर्ने भयो, गलत जस्तो भयो । अब मिलेर जाने प्रयास गरौँला ।’

अस्थायी/करार शिक्षकलाई प्रधानाध्यापक बनाउन चाहेको विषयमा भने वडाध्यक्ष बस्नेतले केही बोल्नुभएन । विद्यालय व्यवस्थापन समितिको चुनावका लागि गाउँपालिका शिक्षा शाखाबाट खटिएका प्रतिनिधि दीपेन्द्रबहादुर हमालले प्रधानाध्यापक र वडाध्यक्षको झगडा सकिएपछि मात्र त्यहाँ पुगेकाले आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

यद्यपि प्रधानाध्यापक घाइते भएर स्वास्थ्य विज्ञानमा उपचाररत अवस्थामा रहेको सुनिएको उहाँले जनाउनुभयो । शुक्रवार भएको विवादका कारण विद्यालयको चुनाव स्थगन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array