Ad image

सम्झनामा मात्र ढाक्रे र ढाकर

मालश्री खवर
मालश्री खवर २४ चैत्र २०८०, शनिबार
8 Min Read
Aa

अमर अधिकारी/ चैत्र २४ गते रोल्पा । 

मेरो जन्म २०२१ मा भए तापिन मैले २०२४ सालदेखिका सम्झनाहरु मानसपटलमा यथावत राखिरहेको छु। मेरा कलिला नजरले घरअगाडिको गोरेटो बाटो भएर लावालस्कर ढाक्रेहरु ढाकर बोकेर दाङमा पर्ने नेपाल-भारत सीमानामा रहेको सानो बजार कोइलाबासतिर लम्किरहेका हुन्थे। उनीहरुका खुट्टामा जुत्ता चप्पल हुँदैनथ्यो, कम्मरमुनि एकसरो लगौँटी र कम्मरमाथी एकसरो गादो (घरबुनाको नसिलाइएको आङमा बेरेर लगाउने बस्त्र) को भरमा उनीहरुले दिन कटाउँदथे। रोल्पाका कुनाकाप्चाका मात्र होइन रुकुमदेखि पनि त्यस्ता ढाक्रेहरु वेलावेलामा नून तेल खेप्नको लागि बाटोमा ताँती लागेर हिँड्दथे। उनीहरु कोइलाबास जाँदा खाली जाँदैनथे। उनीहरुले साथमा चिराइतो (स्थानीय बोलीचालीमा तिते), रिठा, झुल वा झ्याउ (रुखका बोक्रावाहिर जेलिएर बसेको धर्सा-सुकेका बोक्रा) बोजो, टिमुर, पाँचऔँले, जटामसी, दालचिनी, पदमचाल, सतुवा, वनलसुन, हर्रो र बर्रोलगायतका जडीबुटी बोकेका हुन्थे। हप्तौँसम्म पनि ननुहाएका जस्ता देखिने ती ढाक्रेहरुको भारीबाट मन्द मन्द जडीबुटीका वास्ना प्रवाह हुने हुँदा उनीहरुको जिउबाट मयल तथा पसिनाको गन्ध आउने कुरा हुँदैनथ्यो।

मकै-भटमास सातु नै उनीहरुको खाजा हुन्थ्यो। पैदल हिँड्दाहिँड्दै साँझ परेपछि बाटोको छेउँछाउँ रहेका घरहरु हेर्दै “बास पाइन्छ?” भन्दै सोध्ने ती ढाक्रेहरुले कुनै न कुनै घरमा बास पाइहाल्थे। नपाए वरपिपलको बोटमुनि रात काट्दथे। भाँडा वर्तन बोकेर हिँड्ने ती ढाक्रेहरुको साथमा घरकै आटो-पीठो पनि हुन्थ्यो। जरुवा पानी भएको ठाउँ वरपर नै उनीहरु खाना पकाउँथे। इल्टा (तीनओटा ढुंगा राखेर बनाइने चुल्हो) लगाएर खाना पकाउँदा खासगरी सिलेवर वा आल्मुनियमका भाँडाहरु प्रयोग गर्दथे। थकाई मार्दै खाना बनाउँदै गरेका उनीहरुले पाकिसकेपछि मनभरि र पेटभरि खाना खान्थे र केही बेरको आरामपछि लाग्थे गन्तब्यतिर। ढाक्रेहरु सबैले खाम भाषा बोल्ने हुँदा हामीहरुले बुझ्दैनथ्यौँ।

उनीहरुले प्रयोग गर्ने ढाकर (विशेषखालको डोको) को बिटमाथी जाली बुनेर गाँसेका हुन्थे। निम्ठो मात्र होइन चुल्है पारेर भारी बोक्ने चलन नै थियो। किन कि सकेजति सामान बोक्ने उद्देश्य हुन्थो ढाक्रेहरुको। ढाकरको अगाडिपट्टी अर्थात् ढाक्रेको पीठ्यूतिर दुई ठाउँमा पटुवाले बुनेको खकन पनि जडान गरिएको हुन्थ्यो, जसको सहाराले कुमलाई पनि हल्का भार पर्नुका साथै टाउकोलाई पनि कम भार पर्दथ्यो। विसौनीमा ढाकर विसाएर उनीहरु पुवा (भेँडाको भुवा) को धागो बुनिरहेका हुन्थे भने कसैले के बाटिरहेका हुन्थे, खाली बस्दैनथे। हिँड्दै जाँदा भोक लागेमा गादोबाट मकै भटमास झिकेर घुरुम घुरुम चपाउँदै भोक मेट्दथे र बाटोमा पाइने जरुवा, धारो वा खोल्सामा बगेको सफा पानी पिउँदथे।

- Advertisement -
Ad image

कोही कोही ढाक्रेहरु काम्लो तथा डोको, मान्द्रो बेच्नको लागि पनि यो लेखकको गाउँ खुंग्रीतिर झर्दथे। बर्खे आलु पनि बेच्न ल्याउँदथे। त्यतिबेला नगद कारोवार हुँदैनथ्यो। सामान दिए वापत उनीहरुले मास वा चामल लैजान्थे। नजिकका कसैकसैले काफल तथा निगुरो बेच्न ल्याउनेले पनि नगदको सट्टा मास वा चामल लैजान्थे। त्यति वेला सुक्का मोहरको पनि ज्यादै महत्व थियो। कसैकसैको हातमा मात्र त्यस्ता पैसा हुन्थे। त्यसबखत एक रुपियाँको नोट देख्दा पनि अचम्म लाग्दथ्यो।

कोइलाबासबाट फर्केर उत्तरतिर लम्किएका एकजना ढाक्रेले एक दिन साँझ परिसकेपछि यो लेखकको घरनिर आएर “ए बाजे! मिठी छ मिठी?” भनेपछि आमा हत्तपत्त तल झरेर दोकान खोल्नुभयो र गुड (स्थानीय भाषामा भेली) जोख्नथाल्नुभयो। आमाले “कति चाहियो र?” भनेर सोध्दा “यो होइन मिठी भनेको” भन्नथाले। बाले उनको कुरा बुझ्नुभएछ र यो दोकानमा मेथी छैन भनेर पठाउनुभएको यो लेखकलाई अझै याद छ। त्यतिवेला हाम्रो घर भएको गाउँ खुंग्री चाहीँ प्यूठान जिल्लामा पर्दथ्यो, पछि रोल्पामा गाभियो। हाम्रो बोली भाषा रोल्पालीकोभन्दा प्यूठानीसँग बढी मिल्दथ्यो। यो लेखकका पिताजीले २०३० सालमा ३० हजारमा निर्माण गर्नुभएको घरका भुइँतलामा रहेका ठूलाठूला कोठाहरुमा विशेष गरि हटारु वा ढाक्रेहरु बास बस्ने गर्दथे। उनीहरुको क्रियाकलापहरु देखेर हामी अचम्म पर्दथ्यौँ। उनीहरुमा बेइमानीपन विलकुल देखिँदैनथ्यो। उनीहरु इमानदारिता र धर्मपालनमा दृढ थिए। त्यतिवेला तयारी सूर्तिको प्रचलन आइसकेको थिएन न त मलुवा सूर्तिको प्रचलन थियो। झमक्क साँझ पर्नुअघि बास बस्ने ती ढाक्रेहरुले कक्कर वा खर्से (सूर्तिको धुलो) मा धाइरोको सुकेको पात मिसाएर सालको पातको सोलीमा भरेर ठोस्ने (चकमक) बाट झुलोमा आगो उत्पन्न गराई ब्वाङब्वाङ धुवाँ उडाउँदथे। सूर्तिमा मिसाइने चुनाको त कसैले पनि नाम सुनेकै थिएनन्। धेरैवर्षपछि टिनको बट्टामा निकै गन्हाउनेखालको विजुली नामको खैनी आउनथाल्यो। एकपटक त्यो विजुली खैनी यो लेखकले चाख्दा ओँठभित्र एकपत्र खुइलिएको थियो र त्यसरी चाख्ने काम चेतियो।

रुकुमेली र रोल्पाली ढाक्रेहरुले कोइलाबाससम्म बोकेर विक्री गर्न लैजाने तमाम जडिबुटीहरुको विनास त पहिलेदेखि नै हुँदै आइरहेको छ। अब भने त्यो विनास गर्ने काम रोक्नुपर्दछ र सकिन्छ भने विउ खोज्दै, सार्दै, जोगाउँदै, हुर्काउँदै गर्नुपर्ने अवस्था छ। केही वर्षदेखि जडिबुटीको ब्यवसायिक खेती पनि गरिँदैआएको भन्ने सुनिन्छ। तर बजारको अभावमा खासै उपलब्धि हासिल हुनसकेको भने पाइँदैन। नेपालमा आयुर्वेदिक उद्योगहरु र ब्यवसायहरु खुल्दै पनि आएका छन्। तर ती उद्योगहरुले खास जडिबुटी मात्र प्रशोधन र विक्री वितरण गरेकाहोलान् भनेर शंका गर्नुपर्ने अवस्था पनि छ। यहाँ अनुगमन र निरीक्षण गर्ने निकाय पनि सकृय भएको पाइँदैन। नक्कली आयुर्वेदिक औषधीले फाइदाभन्दा पनि बेफाइदा गर्नसक्ने हुनाले यसतर्फ उपभोक्ता समेत सचेत हुनुपर्ने अवस्था छ।

त्यो समयमा टर्च लाइटको प्रचलन पनि आएको थिएन। ढाक्रेहरुले दियालो (स्थानीय भाषामा भाङ) को सहायताले यताउता गर्दथे। पहाडीभेगतिर पहिले पहिले अर्थात् टुकी र लालटिनको प्रयोग हुनुभन्दा पहिले दियालो बालेर उज्यालोको काम चलाइन्थ्यो। त्यस दियालोमा खोटोको अंश रहने हुँदा झर्झराएर बल्ने र लामो यात्रासम्म पनि बलि नै रहने हुँदा रातमा कतै जाँदा दियालोको प्रयोग हुन्थ्यो। दियालोमा रहने खोटो ज्यादै प्रज्वलनशिल हुन्छ। यस लेखकलाई पनि सम्झना छ त्यो दियालो बाल्ने चलनको। पछि टुकी र लम्फा आए, त्यसपछि लालटिनको प्रयोग हुनथाल्यो भने ठूलो जमघट तथा कार्यक्रमहरमा मैन्टोलको प्रयोग हुनथाल्यो। जसमा मट्टितेल प्रयोग हुनेगर्दथ्यो। अहिले अधिकांश गाउँघरमा विजुली बत्ती पुगिसकेको हुँदा दियालो लोप भए झैँ टुकी, लम्फा, लालटिन र मैन्टोल (पेट्रोम्याक्स) पनि लोप भएर गए।

हाल रोल्पामा पालिकैपिच्छे धेरै स्थानहरुमा बजार विस्तार हुँदैगएका छन्। रोल्पातिर खेतबारी बाँझो हुँदैजाँदा रोल्पाका स्थानीय कृषिउपज हराउँदै अर्थात् लोप हुँदैजाने र कतिपय अनाज तरकारी र फलफूल मधेशलगायत वाहिर जिल्लाबाट आउनेगरेको छ। बजार बजारमा डेरी खुल्नथाले। रोल्पालीहरुले हालका दिनहरुमा पहिलेको जस्तो मकै, भटमास, लट्टे, जुनेलो भुटेर खाने चलन हट्दैगैरहेको छ। रोटी, आटो आदि खान छाडेर खानाको रुपमा आयातीत अस्वस्थकर चामलको भात खानथालेका छन्। खाजाको रुपमा पाउरोटी, चाउचाउ र विस्कुट खानथालेका छन्। जुन स्वास्थ्यका लागि स्थानीय उत्पादबाट बन्ने परिकारजति लाभदायक छैनन्।

यो लेखक उच्चशिक्षा अध्ययनको लागि रोल्पाको खुंग्रीबाट पहिलोपटक काठमाडौँ आउँदा दुईदिन पैदल हिँडेर काठको डुंगाको सहायताले राप्ती नदि पार गरेको थियो। वनकस र कालाकाँटेसम्मको पैदलयात्रापछि वुटवल जाने गाडी चढेर वुटवलबाट काठमाडौँसम्मको रात्रीबस चढेको थियो। हाल रोल्पाका हरेक वडामा मोटरबाटो पुगेको छ। लिबाडसम्म नै बाटो पिच भएको धेरैवर्ष भैसक्यो। कच्चीबाटो हुँदै काठमाडौँबाट रोल्पा रात्रीबसहरु चल्दैआइरहेका छन्। ब्यापारिक केन्द्र सुलिचौर र सदरमुकाम लिबाङबाट ठाउँठाउँमा जाने स्थानीयस्तरका गाडीहरु पनि उपलब्ध छन्। रोल्पाको मामलामा मात्र होइन देशभरका दुर्गम जिल्लाहरुले विकासमा फड्को मारिसकेका छन्।

खच्चडबाट ढुवानी सामानहरु हुनथालेपछि धेरै पहिलेदेखि नै हटारु वा ढाक्रेहरु देखिनछाडेका छन्। रोल्पामा केही वर्षदेखि मालवाहक गाडीहरु आवतजावत भैरहन्छन्। यातायातको सुविधाले रोल्पाको रौनक नै फेरिएको पाइन्छ। दुःखको कुरा यो छ कि रोजगारको सिलसिलामा भारत र खाडी मुलुकमा जाने युवाहरुको संख्या ह्वात्तै बढेको छ। थोरै कमाई भए पनि भारत नै सुरक्षित ठानिन्छ। खाडी मुलुक त्यति सुरक्षित नमानिए तापनि कमाई बढी हुने भएकोले त्यतातिर युवाहरु बढी आकर्षित हुनेगरेको पाइन्छ। वैदेशिक रोजगारको असर गाउँमा निकै परेको छ। खेतबारीहरु सबै बाँझो हुँदै गरैरहेका छन्। पशुपालन पनि विस्तारैविस्तारै हराउँदै गैरहेको पाइन्छ। हरेक पालिकाका मुकाम र वरपर साना साना बजारहरु पनि चलेकाले स्थानीयहरुले स्वरोजगार हुन पाएका छन्। कुनै न कुनै ब्यवसाय चलेकै देखिन्छन्।

रोल्पाको खुङ्ग्री निवासी लेखक अधिकारी हाल काठमाडौँ बस्नुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

Array