उमा बस्नेत
मालश्री खबर, जेठ २६ गते, रोल्पा ।
आई.ए.सम्म पढेका रोल्पा नगरपालिका १० पेवा धवाङका ४८ वर्षिय राजवहादुर घर्तीमगर केही समय जागिरे वने । गरिवी निवारण कोषको सामाजिक परिचालक भएर जीवनमा जागिरको अनुभव संगालेको उनी लामो समय त्यहाँ टिक्न सकेनन । सफल किसान वनेर आफ्नै खेतवारीमा पसिना वगाउने हुटहुटीले उनलाई कुर्सीमा आराम गर्न हैन खेतवारीमा श्रम गर्न आकर्षण गर्यो ।
२०७२ साल देखि उनी व्यवसायिक कृषक वने । राज एग्रो तथा बाख्रा फर्म दर्ता गरी सञ्चालन गर्दै आएका उनीको व्यवसायीक रुपामा कृषि पेशामा संलग्न भएको ८ वर्ष भयो । एकातिर व्यवसायिक तरकारी खेती अर्को तिर बाख्रा पालन ।
राजबहादुरलाई उनकी ४६ वर्षिया श्रीमती निर्माला घर्तिमगरले साथ दिएकी छिन । बिहानी कर्मको सुरुआत तरकारी खेती र बाख्रा र्फम बाट सुरु हुन्छ । दिउँसो र बेलुकी पनि आफ्नै फर्ममा रमाउछन् राजवहादुर दम्पत्ती । फर्ममा अहिले श्रीमान र श्रीमतीले मात्र काम गरिरहेको राजवहादुर बताउछन् । राजवहादुर दम्पतीले तरकारी खेतीबाट वार्षिक १ लाख वढी र बाख्रा पालनबाट २ लाख वढी गरी बार्षिक रुपमा ३ लाख बढी आम्दानी गर्दछन् । आफुले गर्दै आएको व्यवसायिक कृषिबाट सन्तुष्ट रहेको राजवहादुर वताउछन् ।

राजबहादुर दम्पत्तीका दुई सन्तान छन् । एक छोरा र छोरी । बुहारी सहित उनको परिवारमा अहिले ५ जनाको सानो परिवार छ । छोरा धिरेन्द्र रोल्पा नगरपालिका वडा नम्बर ३ को नेपाल राष्ट्रिय मावि खुमलेका विज्ञान शिक्षक छन् । बुहारी संगिता दाङको मार्क कलेजमा दोस्रो वर्षमा अध्ययनन गर्छिन साथमा आफ्नै बुटिक पसल सञ्चालन गर्दै आएकी छिन् । छोरी बन्दना दाङको पद्मोदय माविमा कक्षा ११ मा अध्ययनरत छिन् । छोरी पढाउन र घर खर्च चलाउने उनीहरुको मुख्य स्रोत बनेको छ तरकारी खेती र बाख्रा फर्म ।
राजवहादुरले आफ्नो तरकारी फर्ममा विखमा जडिबुटी, सीमी, काउली, बन्दा, आलु, रायो, मूला जस्ता तरकारी खेत गरेका छन् । रुघाखोकी लागेकोे, घाटीमा टंसिल हुदा र अपच भएको बेलामा औषधीको रुपमा काम गर्ने विखमा जडिबुटी बाग्लुङ ढोरपाटन बाट लिएको राजवहादुर बताउछन् । अन्य तरकारी भन्दा आलुबाट राम्रो आम्दानी हुने गरेको राजवहादुरले बताए ।
राजवहादुरले ४ कोठाको बाख्रा खोर बनाएका छन् । उक्त खोरमा अहिले पाठा—पाठी, बोका, खसी गरी ४६ वटा सिन्हाल, खरी र बोयर जातका बाख्रा छन् । बाख्रालाई चरण क्षेत्रमा लैजान सहज हुने भएकाले फर्ममा धेरैजसो सिन्हाल जातका बाख्रा पालेको उनी बताउछन् । सिन्हाल जातका बोका र खसीलाई जिउँदै प्रति केजी ६ सय रुपैया सम्म बेच्ने गरेको राजवहादुरले बताए ।
फलफूल तर्फ राजबहादुरले स्ट्रबरी र किबीको खेती पनि सुरु गरेका छन् । करिब एक रोपनी जग्गामा उनले किबीको विरुवा लगाएका छन् । किविले भने अझै फल दिएको छैन । फल दिन २÷४ बर्ष लाग्ला त्यसपछि आम्दानी पनि वढ्ने उनको आशा छ । किबीको फलले राम्रै आम्दानी दिने आशा गरेको छु राजवहादुरले भने ।
करिब ८ वर्ष अठार मगरात मगर प्रतिष्ठानमा गरीबी निवारण कार्यक्रममा सामाजिक परिचालकको रुपमा काम गरेको अनुभव पनि छ राजबहादुरसँग । सामाजिक परिचालक हुँदा अरुलाई कृषिका काम सिकाउदा सिकाउदै राजवहादुर उक्त काममा पोख्त भए । आफुले पनि कृषि पेशालाई व्यवसायीकरुपमा सञ्चालन गरी केहि गर्नु पर्छ भन्ने भाव जागेकाले कृषि पेशामा संलग्न भएको राजवहादुरको भनाई छ । सुरुमा उनी आफ्नै लगानीमा तरकारी खेत गर्न थाले । अहिले फर्मलाई नगरपालिकाले पनि सहयोग गर्ने गरेको राजबहादुर बताउछन् ।
बाख्रा पालनमा नगरपालिकाले १ लाख अनुदान दिएको राजवहादुरले बताए । “संघीय सरकारको अनुदान कार्यक्रम अन्तर्गत नगरपालिका मार्फत विभिन्न बीउ बिजन, टनेलमा केही प्रतिशत अनुदान दिएको छ साथै कृषि ज्ञान केन्द्रले पनि प्रोत्साहन गरेको छ” राजवहादुरले भने । कृषकले अपेक्षा गरे अनुसार नगरपालिकाले लगानी गर्न नसके पनि विस्तारै कृषि र पशु विकासको क्षेत्रमा प्राथमिकता दिदै आएकोे छ । केहि गर्छु भन्ने कृषकलाई नगरपालिकाले आत्मविश्वास थपिदिएको छ । घरमै आएर केहि गरिदियोस भन्नेहरुको लागि नभई म कृषि क्षेत्रमा आबद्ध भई कटिवद्धताका साथ यस क्षेत्रमा लाग्छु भन्ने कृषकलाई नगरपालिकाले प्रोत्साहन गरेको छ राजवहादुरले भने ।
सदरमुकाम लिवाङमा प्रत्येक आईतबार हाटबजार लागेपनि उत्पादन भएका तरकारी तथा फलफू हाटबजार सम्म लैजानको लागि ढुवानीको सुविधा नुहदा वजार ल्याउन नसकेको उनले वताए । यात्रूवाहक गाडीमा ढुवानी गर्दा महंगो भाडा लाग्दा लागत वढ्ने गरेको राजहादुरको भोगाई छ ।
कृषि क्षेत्रको व्यवसायिकरणलाई जोड दिनु पर्ने उनको सुझाव छ । उत्पादित बस्तुलाई बजारीकरण, तालिम,औषधी तथा बीउ बिजन अनुदान तथा ढुवानीको व्यवस्थापनमा नगरपालिकाले सहयोग गरे कृषकलाई थप प्रोत्साहन मिल्ने राजवहादुरको भनाई छ । नगरपालिकाले यति काम गर्न सके आफु जस्तै अन्य किसानलाई पनि ब्यवसायिक खेती गर्न सहज हुने उनको भनाई छ ।





प्रतिक्रिया दिनुहोस्