Ad image

अर्नव चक्रवातको सम्भावित प्रभाव ः रोल्पामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

malashree
malashree ११ कार्तिक २०८३, मंगलवार
2 Min Read
Aa

मालश्री खबर, कार्तिक १० रोल्पा । खाडीमा विकसित ‘अर्नव’ चक्रवात थप शक्तिशाली बन्न सक्ने सम्भावना रहेको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नेपाल मौसम विज्ञान विभागबाट जारी पछिल्लो विशेष मौसम बुलेटिनलाई उद्धृत गर्दै प्रशासनले  कार्तिक १२ गते बिहीबार रातिदेखि मौसम प्रणालीको प्रभाव सुरु हुने र कार्तिक १३ तथा १४ गते बढी सक्रिय हुने पूर्वानुमान रहेको जनाएको छ।

उक्त मौसमी प्रणालीको प्रभावबाट लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्ने जनाइएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले रोल्पावासी, यात्रु, कृषक, पर्यटक तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ। प्रशासनले कृषकहरूलाई धानबाली काट्ने, सुकाउने तथा भित्र्याउने काम सम्भव भएसम्म कार्तिक १२ गतेअघि नै सम्पन्न गर्न आग्रह गरेको छ। त्यस्तै, अत्यावश्यक कामबाहेक कार्तिक १२ देखि १४ गतेसम्म लामो तथा जोखिमयुक्त यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

- Advertisement -
Ad image

बाढी, पहिरो तथा डुबानको जोखिममा रहेका बस्तीका नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गर्दै जोखिमका संकेत देखिएमा तत्काल सुरक्षित स्थानमा जानसमेत प्रशासनले अनुरोध गरेको छ। यस्तै, सवारी चालक तथा यातायात व्यवसायीलाई वर्षा, हावाहुरी र पहिरोको सम्भावनालाई ध्यानमा राख्दै सुरक्षित आवागमन सुनिश्चित गर्न आग्रह गरिएको छ।

स्थानीय तह तथा सरोकारवाला निकायलाई पूर्वसूचना प्रभावकारी रूपमा प्रवाह गर्न, जोखिमयुक्त क्षेत्रको निगरानी बढाउन, उद्धार सामग्री तयारी अवस्थामा राख्न तथा आवश्यक परे जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले नेपाल मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित निकायबाट जारी हुने आधिकारिक सूचना र निर्देशन पालना गर्न सबैमा आग्रह गरेको छ।

malashree

प्रतिक्रिया दिनुहोस्