रोल्पा, ०९ असाेज । थबाङ गाउँपालिकाले गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालित व्यवसायको अनुगमन गरेको छ । थबाङ गाउँपालिकाको वडा नम्बर १ र २ अन्तर्गतका ठूलोगाउँ, झकिबाङ र दहबाङको बजार क्षेत्रमा रहेका व्यवसायहरुको अनुगमन गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक शर्मिला बुढा मगरको नेतृत्वमा बिहीबार बजार अनुगमन गरिएको थियो । अनुगमनका क्रममा व्यवसायहरूमा बिक्रीका लागि राखिएका म्याद सकिएका खाद्यान्न तथा अन्य वस्तुहरू फेला परेका थिए । टोलीले म्याद गुज्रिएका वस्तुहरू जफत गरी नष्ट गरेको गाउँपालिकाकी उपाध्यक्ष तथा उपभोक्ता हित संरक्षण समितिका संयोजक शर्मिला बुढा मगरले जानकारी दिइन् । उपभोक्ताको स्वास्थ्य तथा अधिकारलाई ध्यानमा राख्दै बजारमा बिक्री हुने वस्तुको गुणस्तर र म्यादको अवस्थाबारे अनुगमन गरिएको उनको भनाई छ ।
अनुगमन टोलीले उक्त क्षेत्रमा रहेका ४३ वटा व्यवसायको निरीक्षण गरेको थियो । अनुगमनका क्रममा व्यवसायीहरूले पालना गर्नुपर्ने मापदण्ड, वस्तुको म्याद, सरसफाइ तथा उपभोक्ताको हितसँग सम्बन्धित विषयमा आवश्यक जानकारी दिइएको छ । गाउँपालिकाले बजारमा हुने अनियमितता नियन्त्रण, म्याद गुज्रिएका वस्तुको बिक्रीमा रोक तथा उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले अनुगमनलाई निरन्तरता दिएको गाउँपालिकाकी उपाध्यक्ष बुढा मगरले बताइन् ।
अनुगमनका क्रममा भेटिएका कमजोरी सुधार गर्न व्यवसायीहरूलाई सचेत गराउँदै आगामी दिनमा प्रचलित नियम तथा मापदण्ड पालना गर्न निर्देशन दिइएको गाउँपालिकाले जनाएको छ । स्थानीय बजारमा उपभोग्य वस्तुको गुणस्तर कायम राख्न र उपभोक्तालाई सुरक्षित सामग्री उपलब्ध गराउन नियमित अनुगमन आवश्यक रहेको गाउँपालिकाको भनाइ छ । टोलीले व्यवसायमा देखिएका कमीकमजोरीका आधारमा व्यवसायीहरूलाई सल्लाह, सुझाव तथा आवश्यक निर्देशन समेत दिएको जनाएको छ । उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तु उपलब्ध गराउन व्यवसायीहरूलाई जिम्मेवार बन्न आग्रह समेत गरिएको छ । गाउँपालिकाले व्यावसायीलाई पसलमा मूल्यसूची राख्न, गुणस्तरीय बस्तु विक्री वितरण गर्न लगायतका कुरामा सुझाब दिएको छ ।






प्रतिक्रिया दिनुहोस्