Ad image

रोल्पाका जोखिमयुक्त क्षेत्रहरुमा उच्च सर्तकता

malashree
malashree ९ आश्विन २०८३, शुक्रबार
4 Min Read
Aa

भरत विश्वकर्मा
रोल्पा । ठुलो वर्षासँगै सम्भावित बाढी, पहिरोको जोखिमलाई मध्यनजर गर्दै रोल्पाको जोखिमपूर्ण स्थानमा उच्च सावधानी अपनाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै भूभाग मध्ये रोल्पा र छिमेकी जिल्लाहरुमा समेत असोज ८ गतेदेखि ११ गतेसम्म भारी देखि अति भारी वर्षाको सम्भावना रहेको छ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्लामा विपद्को जोखिमबाट बच्नका लागि प्रचारप्रसार, सम्पूर्ण विद्यालयहरु बन्द गरिनुका साथै जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । विपद्का कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनगर गर्दै जिल्लामा उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकार घनश्याम गौतमले बताए । ‘हामीले पूर्व तयरी गरिरहेका छौँ, पहाडी भूभाग भएकाले बाढी भन्दा पनि पहिरोको उच्च जोखिम रहेको अवस्थामा गत महिनानै ठुलो धनजनको क्षति व्यहोर्नु प¥यो’ प्रमुख जिल्ला अधिकारी गौतमले भने ‘अहिलेको परिवेशमा वडादेखि गाउँटोलसम्म पुग्ने प्रयास गरेका छौँ, जोखिम पहिचान गरेको स्थानहरुमा उच्च सर्तकता अपनाईको छ ।’

सुनछहरी गाउँपालिकाको सेरम, घुस्बाङ, लुङ्ग्री गाउँपालिकाको वडा नम्बर ६ गुम्चाल, पाटेगुम्चाल र वडा नम्बर ५ का विभिन्न बस्तीहरु, थबाङ गाउँपालिकाका विभिन्न बस्तीहरु र सुनिनस्मृति गाउँपालिकाको वडा नम्बर ५ र ६ उच्च जोखिममा रहेको उनले जानकारी दिए । उनले ति क्षेत्रमा थप घटना नहोस भनेर सचेत रहन अनुरोध गरेको बताए । ‘स्थानीय विपद् व्यवस्थापनको वैठक बसेर त्यस्ता ठाउँहरुमा प्रचारप्रसारको व्यवस्था गरेका छौ’ उनले भने ‘अन्याधिक वर्षाका कारण पहिरो जाने सम्भावना रहेका ठाउँका बस्तीहरुका नागरिकलाई विगतमा राखिएका टेन्टहरुमा ल्याएर राख्ने र विद्यालयहरुमा पनि आश्रय स्थल बनाएर राख्ने प्रवन्ध गर्नका लागि अनुरोध गरेका छौ ।’

साथै उनले प्रचारप्रसारको कामलाई पनि निरन्तरता दिएको बताए । ‘यहाँको भूगोलको हिसाबले र सामान्य पानी पर्दा पनि पहिरो धेरै ठाउँमा गएको हुनाले सम्भावित ठाउँहरुका घरमा नबस्न र सुरक्षित ठाउँमा बस्न आग्रह गरेका छाँै, स्थानीय तह, नेपाल प्रहरीहरुले पनि यसबारे सचेतना फैलाउने कामहरु गर्नुभएको छ, उनले थपे ।

- Advertisement -
Ad image

रातको समयमा सवारी सञ्चालनमा समेत रोकः
जिल्ला प्रशासन कार्यालय रोल्पाले रातिको समयमा सवारी आवागमनमा समेत रोक लगाएको छ । भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लामा सवारीसाधन आवागमनमा समयसीमा तोकेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालका धेरै भूभाग मध्ये रोल्पा र छिमेकी जिल्लाहरुमा समेत भारी देखि अति भारी वर्षाको सम्भावना रहेकोले असोज ८ गतेदेखि ११ गतेसम्मका लागि सो निर्णय गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले मदन भण्डारी राजमार्ग २४ घण्टा पूर्ण रूपमा बन्द गरिने जानकारी दिए । उनका अनुसार शहीदमार्ग हुँदै जिल्ला बाहिरिने सवारीसाधन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म र शहीदमार्ग अन्तर्गतका अन्य सडक खण्डमा बेलुका ६ः३० बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

त्यसैगरी, जिल्ला प्रवेशको मुख्यद्वारको रुपमा रहेको खुङ्ग्रीबाट जिल्ला बाहिरिने सवारीसाधन बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म तथा सुलिचौर–लिवाङ सडकखण्डमा बेलुका ६ः३० बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमन रोक लगाइएको प्रजिअ गौतमले जानकारी दिए ।

जिल्लाका अन्य ग्रामीण सडकखण्डमा बेलुका ६ बजेसम्म सवारी गन्तव्यमा पुगिसक्नुपर्ने र बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म आवागमन पूर्ण रूपमा रोक लगाइएको छ । अत्यधिक वर्षा, बाढी तथा पहिरोको उच्च जोखिम देखिएमा प्रहरीले आवश्यकताअनुसार जुनसुकै समयमा पनि सवारी आवागमन रोक्न सक्ने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले विपद् जोखिमलाई ध्यानमा राखेर आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्