Ad image

रोल्पाका २२ सय ९९ किशोरीलाई एचपिभि खोप प्रदान

malashree
malashree ८ आश्विन २०८३, बिहीबार
3 Min Read
Aa

रोल्पा,०८ असाेज । रोल्पाका २ हजार २ सय ९९ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप (एचपिभि) लगाइएको छ । स्वास्थ्य कार्यालय रोल्पाले भाद्र २४ गतेदेखि २६ गतेसम्म एचपिभि खोप अभियान सञ्चालन गरेको थियो ।

जिल्लाको दश वटै स्थानीय तहका संस्थागत र सामुदायिक विद्यालयको कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेको किशोरीको हकमा १० वर्ष उमेरका किशोरीलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । खोप अभियान अन्तर्गत सुनछहरी गाउँपालिकाका २१० जना, थबाङ गाउँपालिकामा १०६ जना, परिवर्तन गाउँपालिकामा १७१ जना, गंगादेव गाउँपालिकामा २४२ जना, माडी गाउँपालिकामा १४० जना, त्रिवेणी गाउँपालिकामा १९१ जना किशोरीले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाएका छन् ।

त्यस्तै रुन्टीगढी गाउँपालिकामा २७६ जना, रोल्पा नगरपालिकामा ३२५ जना, सुनिलस्मृति गाउँपालिकामा २९८ जना र लुङ्ग्री गाउँपालिकामा ३४० जना किशोरीले खोप पाएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख माधव राउतले जानकारी दिए । स्वास्थ्य कार्यालयले राखेको लक्ष्यको सतप्रतिशत खोप लगाउन सफल भएको समेत उनले जानकारी दिए ।

सरकारले पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्ममा निवारण गर्ने उदेश्यका साथ हरेक वर्ष किशोरीलाई एचपिभि खोप प्रदान गर्दै आएको छ । रोल्पामा आर्थिक वर्ष २०८१/८२ मा अभियान तथा नियमित खोप कार्यक्रम अन्तर्गत १२ हजार ७ सय ७९ जनालाई खोप प्रदान गरिएको थियो । गत आर्थिक वर्षमा २०८२/८३ मा २ हजार ५ सय ५६ जना किशोरीहरुलाई खोप प्रदान गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।

- Advertisement -
Ad image

महिलाहरुको पाठेघरमा हुने क्यान्सरलाई रोगथामका लागि एचपिभि खोप प्रदान गर्ने गरिन्छ । खोपले पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि महत्वपूर्ण सहयोग पुग्ने स्वास्थ्यकर्मीको भनाई छ । नेपालमा महिलालाई लाग्ने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर पनि एक होे । जसको कारण धेरै महिलाहरुको अकालमै ज्यान समेत जाने गरेको बताइन्छ । समयमै उपचार गरे यो रोगबाट बच्न सकिने स्वास्थ्यकर्मीको भनाई छ ।

यो क्यान्सर मुख्य गरेर ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) भाइरसको संक्रमणबाट हुन्छ । पाठेघरको मुखको क्यान्सरबाट नेपालमा हरेक दिन ४ जना महिलाहरूको मृत्यु हुन्छ भन्ने अनुमान छ । नेपालमा महिलाहरूमा हुने क्यान्सरहरुमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ भने क्यान्सरबाट महिलाको मृत्यु हुनेमा यो पहिलो मुख्य कारण देखिएको छ । पाठेघरको मुखको क्यान्सर खोपबाट रोकथाम गर्न सकिने र सुरुको अवस्थामा यो रोगको पहिचान भयो भने उपचार गरेर निको हुनसक्ने स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख राउतले बताए ।

 

malashree

प्रतिक्रिया दिनुहोस्