मालश्री खबर, असोज, ०५ रोल्पा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय रोल्पाले लुङ्ग्री गाउँपालिका–५ किलाचौरमा खाद्य सामग्री खरिद–बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । खाद्य सामग्रीको सहज आपूर्ति तथा स्थानीय नागरिकलाई सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको खरिद–बिक्री केन्द्रको उद्घाटन लुङग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा लिबाङका कार्यालय प्रमुख खर्कबहादुर बुढामगर, वरिष्ठ सहायक पाँचौँ मनिषराज उपाध्याय, लुङग्री गाउँपालिका–५ का वडा अध्यक्ष रिखबहादुर रोका, वडा नं. १ का वडा अध्यक्ष गणेश पुन, रेहान्स सप्लायर्सका व्यवस्थापक सन्दिप डाँगी, वडा सदस्य, पालिकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा लुङग्री गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेपेन्द्रबहादुर बुढाथोकीले स्वागत मन्तव्य राख्दै गाउँमै खाद्य सामग्री उपलब्ध हुने व्यवस्था सुरु हुनु स्थानीयका लागि महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह, खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा सम्बन्धित व्यवसायीबीच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष भरत कुमार थापाले स्थानीय नागरिकलाई आवश्यक खाद्य सामग्री सहज र सहुलियत मूल्यमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको केन्द्रलाई प्रभावकारी र दीर्घकालीन बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले केन्द्रमा नियमित रूपमा खाद्य सामग्री उपलब्ध हुने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरिने बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा लिबाङका कार्यालय प्रमुख खर्कबहादुर बुढामगरले ग्रामीण क्षेत्रका नागरिकलाई लक्षित गरी खाद्य सामग्रीको पहुँच विस्तार गर्ने उद्देश्यले खरिद–बिक्री केन्द्र सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार केन्द्रबाट तोकिएको मूल्यमा गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । केन्द्रबाट हाल सोनामन्सुली चामल २५ किलोको बोरो १ हजार ४ सय २५ रुपैयाँ, स्टिम सावा चामल २५ किलोको बोरा १ हजार ६ सय ७५ रुपैयाँ, मसुरो दाल प्रतिकिलो १ सय ४० रुपैयाँ र चिनी प्रतिकिलो १ सय १० रुपैयाँमा बिक्री गरिने जनाइएको छ । चिनी भने प्रतिव्यक्ति ४ किलोका दरले बिक्री गरिनेछ ।
खाद्य सामग्रीको ढुवानी तथा आपूर्तिको जिम्मेवारी रेहान्स सप्लायर्स, रोल्पा नगरपालिका–७ माडिचौरका व्यवस्थापक सन्दिप डाँगीले लिनुभएको छ । कार्यक्रममा सहभागी स्थानीय तथा वक्ताहरूले केन्द्रबाट चामल, दाल र चिनी मात्र नभई नुन, तेललगायतका दैनिक उपभोग्य वस्तु पनि उपलब्ध गराउनुपर्ने माग गरेका छन् । उनीहरूले ग्रामीण क्षेत्रमा खाद्य सामग्रीको आपूर्ति सहज बनाउन खरिद–बिक्री केन्द्रलाई नियमित र दीर्घकालीन रूपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।
स्थानीय सहभागीहरूले बजारमा खाद्य सामग्रीको अभाव हुँदा टाढा जानुपर्ने बाध्यता अन्त्य गर्न केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सेवा लामो समयसम्म निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । खरिद–बिक्री केन्द्र सञ्चालनमा आएसँगै लुङग्री गाउँपालिकाका स्थानीय नागरिकले सहुलियत मूल्यमा खाद्य सामग्री खरिद गर्न पाउने भएका छन् । केन्द्रको प्रभावकारी सञ्चालनसँगै आगामी दिनमा थप आवश्यक खाद्य सामग्रीसमेत उपलब्ध हुने अपेक्षा गरिएको छ । कार्यक्रमको सञ्चालन लुङग्री गाउँपालिकाका जिन्सी शाखा प्रमुख गणेश बहादुर बिष्टले गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्