रोल्पा,०२ असोज । रोल्पामा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा आज (शुक्रबार) वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय रोल्पा र जलजला बहुमुखी क्याम्पस, लिबाङको समन्वय तथा संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय कार्यक्रम सञ्चालन समितिको आयोजनामा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रममा धुपी ३०, कपुर ५, अम्बा १०, अमला १०, पारिजात १०, कल्की फूल १० र टिमुर ५ गरी विभिन्न प्रजातिका ८० वटा बिरुवा रोपण गरिएको डिभिजन वन कार्यालय रोल्पाले जनाएको छ ।
कार्यक्रममा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा घर्ती, प्रमुख जिल्ला अधिकारी घनश्याम गौतम, सिनियर डिभिजनल वन अधिकृत जीवन पगेनी, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जलजला बहुमुखी क्याम्पसका प्रमुख श्यामबहादुर बुढामगर, उपप्राध्यापक, कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दालगायतको सहभागिता रहेको थियो । जिल्लामा असोज २ र ३ गतेको दिनलाई संविधान दिवस र राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिएको थियो । दुई दिन विविध कार्यक्रम गरी संविधान दिवस मनाउन सुरु गरिएको छ । असोज ३ गते पनि विविध कार्यक्रम गरी मनाईदै छ ।।





प्रतिक्रिया दिनुहोस्