सुर्यप्रकाश बुढामगर
रोल्पा,२४ भाद्र । रोल्पाको परिवर्तन गाउँपालिकाका वडा नम्बर ६ थानेकोटका ४० वर्षीय कुलप्रसाद बुढा मगरको ४ परिवार रसुवाको टिमुरे बजार स्थित भोटेकोशी नदी किनारमा बिगत ८ वर्षदेखि मासु पसल सञ्चालन गर्दै आएका थिए । भाद्र १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि उनी सहित चारै जना परिवार सम्पर्कबिहिन छन् ।
बाढीले गर्दा कुलप्रसाद सहित उनकी श्रीमती ३५ वर्षीय मिना घर्तीमगर, २१ वर्षीय छोरा डिप बुढामगर र ३ वर्षीया छोरी खुशी बुढामगर हालसम्म सम्पर्कमा छैनन् । त्यस दिनदेखि उनको परिवारमा चैन छैन् । हराएका परिवारको खोजीका लागि हारगुहार गर्दा पनि केही पत्तो लागेको छैन् । बाढी पछि बेपत्ता भएका परिवारको सास वा लास भेट्ने आशा लिएर भाइ भिमप्रकाश बुढा मगर हातमा सम्पर्कविहिन परिवारको फोटो लिएर भदौ १३ गते घरदेखी चितवन पुगे ।
हराइरहेका परिवारको सदस्य खोजीमा नवलपरासी, चितवन, नुवाकोट र काठमाडौँ भांैतारिदा पनि परिवारको सास र लासको अत्तोपत्तो नभएपछि ८ दिनपछि घर फर्किए । ‘परिवार भेटिने आसमा खोज्न म नवलपरासी, चितवन, नुवाकोट र काठमाडौँको हस्पिटलहरुमा पुगे’, बेपत्ता कुलप्रकाशका भाई भिमप्रकाश बुढाले भने ‘जहाँ मैले फोटो देखाउदै शव हेर्दा शवहरु छेदविच्छेद अवस्थामा देखिन्थे र मैले आफ्नो परिवारको शव हो भनेर पहिचान गर्न सकिन् ।’
लामो समय सम्म पनि खोजी गर्दा केही पत्तो नलागेपछि उनी घर फर्किए । ‘आशै आशामा दिन बित्दै गयो, आज, भोलि, पर्सि गर्दै मैले मेरो परिवारको शव पहिचान हुन नसक्ने भएपछि करिब आठ दिन पुग्दा मैले काठमाडौमा आफ्नो डिएनए नमूना दिएर फर्किएको छु’, उनले भने ‘डिएनए रिपोर्ट आउन दुई÷तीन महिना लाग्छ भन्ने छ, हेरौं कहिलेसम्म आउँछ, थाहा छैन ।’ दाइ भाउजु, भतिज र भतिजीलाई जिवित भेट्ने आशा भने मरिसकेको उनले सुनाए ।

तस्बिरः रसुवा बाढीपछि बेपत्ता रहेका चार जना
घरको आर्थिक अवस्था कमजोर भएकाले २०७६ सालमा हाइड्रोपावरमा काम गर्ने भनेर कुलप्रसाद रसुवा पुगेका थिए । वैदेशिक रोजगारीको शिलशिलामा करिब ४/५ बर्ष कतार बसेर घर फर्किएका थिए कुलप्रसाद । झन्डै २ बर्ष जति घर बसेर कुलप्रसाद रसुवाको टिमुरे पुगेका थिए । त्यहाँ काम गर्न गएका कुलप्रसादले व्यवसायमा भविष्य सुन्दर देखेपछि आफ्नो श्रीमती मिनालाई रसुवा लगेका थिए । श्रीमती मीना पछि मात्र रसुवा पुगेकी थिइन् । ड्राइभर सीप सिकेर काम गर्ने भनेर छोरा डिप प्लस टु पढाई पुरा गरेर डेढ बर्ष अगाडि मात्र दाङबाट रसुवा पुगेका थिए । कुलप्रसादले करिब ८ बर्ष पहिले रोजगारीको शिलशिलामा रसुवाको नाका टिमुरे बजारमा सामान्य व्यावसायिक कुखुरा, खसीको मासु तथा किराना सामानको पसल गर्दै आएका थिए ।
घरको आर्थिक अवस्था पनि कमजोर रहेको भाई भिमप्रकाश बुढा मगरले बताउछन् । म २ बर्ष हुँदा मेरो बुबा बित्नु भएको हो रे, बुबा नभएपछि हामी दाइ, म बहिनी दुख कष्ट गर्दै हुर्केका हौं, भिमप्रकाशले सुनाए ।‘आमाले पनि बुवाको निधन पछि दोस्रो बिहे गर्नुभयो र बुबा नहुदाको पिडा कस्तो हुन्छ, त्यो त भोग्नेलाई मात्र थाहा हुन्छ “उनले भने । अहिले दाईको चार परिवारको सदस्यलाई गुमाउँदाको पिडा सहन नसक्ने अवस्थामा परिवार छन् । ‘अगाडिको खम्बा दाइ हुनुहुन्थ्यो, तर दाइ पनि अस्ताएपछि मनभित्र पिडाको भारी मात्र छ’, भिमप्रकाशले भने ।
रोल्पाका अझै २४ जना सम्पर्कविहिनः
रसुवा बाढीमा रोल्पाका करिब ३२ जना सम्पर्कबिहिन परेको मध्ये हालसम्म ८ जना सम्पर्कमा आएका छन् भने २४ जना अहिलेसम्म पनि सम्पर्कविहिन रहेका छन् । सम्पर्कबिहिन हुनेमा सुनिलस्मृति गाउँपालिकाका १० जना, रुन्टीगढी गाउँपालिकाका ५ जना, परिवर्तन गाउँपालिकाका ४ जना, माडी गाउँपालिकाका २ जना, रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र गंगादेव गाउँपालिकाका १/१ जना सम्पर्कबिहिन छन् ।
सम्पर्कविहिन हुनेमा सुनिलस्मृति गाउँपालिका ६ का रविलाल भण्डारी, राजेन्द्र महत, कुमार महरा, बसन्त महरा, सन्जु महत, सुनिलस्मृति गाउँपालिका ५ का हरि बहादुर घर्ती, आर्यन घर्ती, सुनिलस्मृति गाउँपालिका ५ का अनाराम पुन, सोम बहादुर घर्ती र सुनिलस्मृति गाउँपालिका ३ का जक्त बहादुर पुन मगर गरी सुनिलस्मृति गाउँपालिकाबाट १० जना रहेका छन् ।
त्यस्तै रोल्पा नगरपालिका–१० का लेखराज रोका, माडी गाउँपालिका ५ की तिला बाँठा मगर, माडी गाउँपालिका ३ की दीपा घर्ती मगर, गंगादेव गाउँपालिका २ की कमला पुन मगर, परिवर्तन गाउँपालिका ६ का कुलप्रसाद बुढामगर, मीना घर्ती मगर, डिपी बुढामगर खुसी बुढामगर र सुनछहरी गाउँपालिका ५ का सुनिल विक रहेका छन् । यसैगरी रुन्टीगढी गाउँपालिका ८ का गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार र विकास परियार रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्