रोल्पा, २२ भाद्र । लुङ्ग्री गाउँपालिका–१ दाइबाङस्थित तिनपरे युवा क्लबले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबले २०८३ साल कात्तिक १७ गतेदेखि २२ गतेसम्म वार्षिकोत्सव मनाउने जनाएको छ । “समाज र सामाजिक विकासका लागि युवाहरू” भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा शुद्ध वडा स्तरीय पुरुष भलिबल, खुला महिला भलिबल, समूहिक नृत्य, एकल नृत्य, लोकदोहोरी, भाले पकड, रस्साकस्सी, घैँटाफोड र ब्याडमिन्टन प्रतियोगिता समावेश छन् ।
पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ३१ हजार रुपैयाँ, द्वितीय २१ हजार रुपैयाँ तथा सेमीफाइनलतर्फ ११÷११ हजार रुपैयाँ पुरस्कार राखिएको छ । खुला महिला भलिबलतर्फ प्रथम १७ हजार रुपैयाँ, द्वितीय ११ हजार रुपैयाँ र सेमीफाइनलतर्फ ६÷६ हजार रुपैयाँ पुरस्कार रहेको छ ।
त्यस्तै, समूहिक नृत्यमा प्रथम, द्वितीय र तृतीयलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार तथा एकल नृत्यमा रु. ४ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । लोकदोहोरी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश ९ हजार, ६ हजार र ४ हजार रुपैयाँ प्रदान गरिने भएको छ । भाले पकडमा ३ हजार, रस्साकस्सीमा ७ हजार र घैँटाफोडमा २ हजार पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
क्लबले प्रतियोगितामा सहभागी खेलाडीहरूका लागि आफ्नै पहिचान खुल्ने पोसाकसहित उपस्थित हुनुपर्ने, खेलाडीले अनुशासन पालना गर्नुपर्ने तथा प्रतियोगिताको अवधिमा लागू हुने नियम पालना गर्नुपर्ने जनाएको छ । लुङ्ग्री गाउँपालिका–१ दाइबाङमा रहेको तिनपरे युवा क्लबले वार्षिकोत्सवमार्फत युवाको सहभागिता, मनोरञ्जनसँगै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई अघि बढाउने उद्देश्य राखेको छ ।





प्रतिक्रिया दिनुहोस्