मालश्री खबर, भाद्र २२ रोल्पा । माडी गाउँपालिका–६ कोर्चबाङस्थित मिनाही स्वास्थ्य चौकीमा एकदिने बृहत आँखा शिविर सम्पन्न भएको छ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा माडी गाउँपालिका–६ वडा कार्यालय कोर्चबाङको सहकार्यमा आइतबार शिविर सञ्चालन गरिएको हो।
शिविरमा दृष्टि परीक्षण, मोतिबिन्दु छनोट तथा चश्मा जाँचलगायतका सेवा प्रदान गरिएको थियो। शिविरबाट कुल १२९ जनाले सेवा लिएका छन्। जसमध्ये ९८ जना महिला र ३१ जना पुरुष रहेका छन्।
परीक्षणका क्रममा ९ जना मोतिबिन्दुका बिरामी र एक जना आँखामा मासु पलाएको समस्या भएका बिरामीलाई शल्यक्रियाका लागि सिफारिस गरिएको छ। मोतिबिन्दुका बिरामीमध्ये ६ जना महिला र ३ जना पुरुष रहेका छन्।
सिफारिस गरिएका बिरामीहरूको शल्यक्रिया यही भदौ २७ र २८ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको लिवाङस्थित नयाँ भवनमा सञ्चालन हुने मोतिबिन्दु शल्यक्रिया शिविरमा गरिने जनाइएको छ।
उक्त शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंका दक्ष तथा अनुभवी वरिष्ठ नेत्ररोग विशेषज्ञ चिकित्सकबाट मोतिबिन्दु तथा अन्य आवश्यक आँखासम्बन्धी शल्यक्रिया गरिने बताइएको छ।





प्रतिक्रिया दिनुहोस्