Ad image

रोल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय बेपत्ता दिवस, सत्यतथ्य सार्वजनिक गर्न परिवारको माग

malashree
malashree १४ भाद्र २०८३, आईतवार
2 Min Read
Aa

रोल्पा,१४ भाद्र । अन्तर्राष्टिय बेपत्ता दिवस रोल्पमा पनि मनाइएको छ । रोल्पाको सदरमुकाम लिबाङमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो । नेपाल रेडक्रस सोसाइटी रोल्पाको आयोजना र सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जालको सह–आयोजनामा कार्यक्रम भएको थियो ।

तत्कालिन समयमा २०५२ सालबाट माओवादीले सुरु गरेको दश वर्षे सशस्त्र द्वन्द्वको क्रममा राज्य पक्ष र विद्रोही पक्षबाट बेपत्ता भएकाको परिवारहरुसँग अन्तरक्रिया गरि कार्यक्रम मनाइएको थियो । बेपत्ता पारिएका व्यक्तिको सम्झना गर्दै परिवारको अवस्था, उनीहरूले भोग्दै आएको पीडा तथा सत्य, तथ्य र न्यायको विषयमा अन्तरक्रिया गरिएको हो । दिवसका अवसरमा बेपत्ता परिवार तथा सरोकारवालाको सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिका परिवारले वर्षौं बितिसक्दा पनि आफ्ना आफन्तको अवस्था सार्वजनिक हुन नसकेको भन्दै यथाशीघ्र सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । उनीहरूले आफन्त जीवित छन् वा छैनन् भन्ने यकिन जानकारीसमेत नपाउँदा आफूहरू लामो समयदेखि अन्योलमा बाँच्नुपरेको गुनासो गरेका छन् ।

बेपत्ता परिवारका सदस्यहरूले राज्यले बेपत्ता पारिएका व्यक्तिको खोजी तथा घटनाको सत्यतथ्य सार्वजनिक गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताएका छन् । बेपत्ता परिवारका लागि वर्षौंको प्रतीक्षा झन् पीडादायी बन्दै गएको छ । परिवारका सदस्यको अवस्था यकिन नहुँदा मृत्यु दर्ता, सम्पत्ति नामसारी, सामाजिक सुरक्षा तथा अन्य कानुनी प्रक्रियामा समेत समस्या हुने गरेको उनीहरूको भनाइ छ। त्यसैले बेपत्ता व्यक्तिको अवस्था छिटो सार्वजनिक गरी परिवारलाई कानुनी तथा सामाजिक रूपमा सहज हुने वातावरण बनाउनुपर्ने माग उनीहरूले गरेका छन् ।

कार्यक्रममा सहभागी सरोकारवालाले बेपत्ता पारिएका व्यक्तिको खोजी, घटनाको सत्यतथ्य अनुसन्धान तथा पीडित परिवारलाई न्याय दिलाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय बेपत्ता दिवसले वर्षौंदेखि आफ्ना आफन्तको प्रतीक्षामा रहेका परिवारको पीडालाई सम्झाउने र राज्यलाई जवाफदेही बन्न झकझक्याउने अवसरका रूपमा भूमिका खेल्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा प्रमुख अथितिको रुपमा रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्ति रहनुभएको थियो । विशिष्ट अतिथिको रुपमा जिल्ला समन्वय समिति रोल्पाको उपप्रमुख कर्मलाल परियार रहनुभएको थियो । नेपाल रेडक्रस सोसाइटी रोल्पाको सभापति नैलसिंह पुनको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य सत्य अभिलेखकर्ता राष्ट्रिय सञ्जालकी भावना न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रेडक्रसका मन्त्री अमर मगरले गर्नुभएको थियो ।

- Advertisement -
Ad image
malashree

प्रतिक्रिया दिनुहोस्