रोल्पा,१३ भाद्र । तिब्बत चीनबाट आएको रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी रोल्पाका करिब २८ जना सम्पर्कविहिन भएको हालसम्म ४ जना सकुशल फेला परेको पाइएको छ । बुधबार आएको बाढीमा परि रोजगारी र व्यापार व्यावसायको शिलशिलामा रोल्पाको विभिन्न पालिकाबाट त्यहाँ रहेका करिब २८ जना व्यक्तिहरु सम्पर्कविहिन भएका थिए । सम्पर्कविहिन मध्ये हालसम्म ४ जना सम्पर्कमा आएको जिल्ला प्रशासन रोल्पाले जानकारी दिएको छ ।
सम्पर्कमा आएकाहरुमा स्थायी ठेगाना नखुलेको दिलिजा पुन, रुन्टिगढी गाउँपालिका ८ का ध्रुबबहादुर बुढा मगर, थबाङ गाउँपालिका–२ का नवराज रोका मगर र रोल्पा नगरपालिका–२ का रमेश वली रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
अझै २४ जना सम्पर्कविहिन ?
रसुवा बाढीमा परी रोल्पाका करिब २४ जना अझै सम्पर्कविहिन रहेका छन् । सम्पर्कविहिन हुनेमा सुनिलस्मृति गाउँपालिका ६ का रविलाल भण्डारी, राजेन्द्र महत, कुमार महरा, बसन्त महरा, सन्जु महत, सुनिलस्मृति गाउँपालिका ५ का हरि बहादुर घर्ती, आर्यन घर्ती, सुनिलस्मृति गाउँपालिका ५ का अनाराम पुन, सोम बहादुर घर्ती र सुनिलस्मृति गाउँपालिका ३ का जक्त बहादुर पुन मगर गरी सुनिलस्मृति गाउँपालिकाबाट १० जना रहेका छन् ।
त्यस्तै रोल्पा नगरपालिका–१० का लेखराज रोका, माडी गाउँपालिका ५ की तिला बाँठा मगर, माडी गाउँपालिका–३ की दीपा घर्ती मगर, गंगादेव गाउँपालिका–२ की कमला पुन मगर, परिवर्तन गाउँपालिका ६ का कुलप्रसाद बुढामगर, मीना घर्ती मगर, डिपी बुढामगर खुसी बुढामगर र सुनछहरी गाउँपालिका ५ का सुनिल विक रहेका छन् । यसैगरी रुन्टीगढी गाउँपालिका ८ का गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार र विकास परियार रहेका छन् ।
जिल्ला प्रशासन कार्यालय रोल्पामा बेपत्ता तथा सम्पर्कविहिन हुने संख्या २६ जनाको मात्र उपलब्ध भएकोमा खोज तथा उद्धार कार्यमा थप २ जना थपिएको रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिए । ‘हामीलाई थप दुई जना विवरणमा नभएको सम्पर्कमा आएको जानकारी प्राप्त भएको छ,सम्पर्कमा आउनेमा स्थायी ठेगाना नखुलेको दिलिजा पुन र रोल्पा नगरपालिका २ का रमेश वली रहेका छन्’,सहायक प्रजिअ गौतमले भने ।
बेपत्ता तथा सम्पर्कविहिन परिवारका सदस्य तथा आफन्तीहरुले अझै पनि जीवित भेट्ने आशा व्यक्त गरिरहेका छन् भने केहीले अब शवको मात्र आशा व्यक्त गरेका छन् । हामीले सासको आशा मारी सकेका छौँ, अब लासको मात्र आशा छ, एकै परिवारका चार जना सदस्य सम्पर्कविहिन भएका परिवर्तन गाउँपालिका ६ का भिम प्रकाश बुढामगरले बताए ।





प्रतिक्रिया दिनुहोस्