भरत विश्वकर्मा
रोल्पा,१२ भाद्र । स्वास्थ्य क्षेत्रको कार्यसम्पादनमा रुन्टीगढी गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य कार्यालय रोल्पाले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समिक्षाको अवसरमा विभिन्न मापदण्डहरु पुरा गर्दै ७१ दशमलव ८५ प्रतिशत सहित गाउँपालिका जिल्लामै उत्कृष्ट बनेको हो । यो गाउँपालिका अघिल्लो आवमा दोस्रो स्थानमा थियो ।
दोस्रो लुङ्ग्री गाउँपालिका भएको छ । उसले ७१ दशमलव ६८ प्रतिशत अंक प्राप्त गरेको छ । यो गाउँपालिका अघिल्लो आवमा पाँचौ स्थानाम थियो । तेस्रो स्थानमा सुनिलस्मृति गाउँपालिका छ, उसले ७१ दशमलव १३ प्रतिशत अंक प्राप्त गरेको अवस्था छ । यो गाउँपालिका अघिल्लो आवमा प्रथम स्थानमा थियो । त्रिवेणी गाउँपालिका ७० दशमलव ९० प्रतिशत अंक सहित चौथो स्थानमा छ । परिवर्तन गाउँपालिका ७० दशमलव ४ प्रतिशत अंक सहित पाँचौ स्थानमा छ । माडी गाउँपालिका ६९ दशमलव ८६ प्रतिशत अंक सहित छैटौ स्थानमा छ । थबाङ गाउँपालिका ६७ दशमलव ६४ प्रतिशत अंक सहित सातौ स्थानमा छ । गंगादेव गाउँपालिका ६७ दशमलव ५८ अंक सहित आठौ भएको छ । जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिका ६६ दशमलव ३२ प्रतिशत अंक सहित नवौ भएको छ । र सुनछहरी गाउँपालिका ६० दशमलव ६१ प्रतिशत अंक सहित दशौ स्थानमा छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले निर्धारण गरेका २८ वटा सूचकको आधारमा मापन गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ । सूचकहरूमा खोप कार्यक्रम, सुरक्षित मातृत्व, बालरोगको उचित व्यवस्थापन, मलेरिया, क्षयरोग, गाउँघर क्लिनिक, पोषण कार्यक्रम, अभिलेखीकरण, प्रतिवेदन, समन्वय, प्रस्तुति लगायत स्वास्थ्य संस्थाले प्रवाह गर्ने सेवा प्रवाहलाई आधार बनाएको लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत गोपाल चौधरीले जानकारी दिए । मूल्याङ्कनको आधारमा स्वास्थ्य निर्देशनालयले मूल्याङ्कनको आधार बनाएको सूचकमा ९० प्रतिशत अंकमा स्वास्थ्य संस्था आफूले गरेको कामको आधारमा र अन्य १० प्रतिशत नम्बर अरु सूचकहरुलाई आधार मानेको उनले बताए । कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुने पालिकाकालाई प्रमाण पत्रले सम्मान गरिएको छ ।
समिक्षामा जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाहको अवस्था, उपलब्धि, चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सधारका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आधारभुत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण परिवार नियोजन, रोग नियन्त्रण स्वास्थ्य शिक्षा लगायतका कार्यक्रमको प्रगति प्रस्तुत गरिएको थियो । साथै स्वास्थ्य संस्थाको जनशक्ति, औषधि तथा उपकरण अवस्था र सेवा प्रवाहमा देखिएका समस्या बारे समेत समिक्षा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख माधव राउतले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय तह र स्वास्थ्य कार्यालय बिच थप समन्वय आवश्यक रहेको बताएका थिए । दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार र नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा समेत जोड दिइएको थियो । समिक्षाबाट प्राप्त निष्कर्षका आधारमा आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई थप प्रभावकारी बनाउने, कमजोर देखिएका सूचकमा सुधार गर्ने तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका नागरिकलाई सेवामा जोड्ने योजना बनाइएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
समिक्षा कार्यक्रमको अवसरमा जिल्लामा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य संस्थाहरुलाई पनि सम्मान गरिएको थियो । स्वास्थ्य सस्थातर्फ थबाङ आधारभुत अस्पताललाई सर्वाेत्कृष्ट अस्पतालको रुपमा घोषण गरिएको छ । त्यसैगरी केवरी स्वास्थ्य चौकी प्रथम, नेर्पा स्वास्थ्य चौकी दोस्रो र मसिना स्वास्थ्य चौकी तेस्रो घोषित भएका छन् ।
दोस्रो भएको पालिका लुंग्री गाउँपालिकाः
तेस्रो भएको पालिका सुनिलस्मृति गाउँपालिकाः 





प्रतिक्रिया दिनुहोस्