भरत विश्वकर्मा
रोल्पा,१० भाद्र। आर्थिक वर्ष २०८१/८२ मा रोल्पाका दश स्थानीय तहहरुले १ हजार ८६० योजनाका लागि बजेट विनियोजन गरेका छन् । सो योजनामध्ये पाँच लाख रुपैयाँ भन्दा कमका योजनाको संख्या १ हजार २५६ वटा रहेको छन् । पाँच लाख देखि २० लाख रुपैयाँसम्मका योजनाको संख्या ४४९ र २० लाख रुपैयाँ भन्दा माथिका योजनाको संख्या १८७ वटा रहेको छ । यहाँका स्थानीय तहहरुले विनियोजित गरेको योजनाको करिब दुई तिहाई योजना पाँच लाख रुपैयाँ भन्दा कम लागतका रहेका छन् ।
सुनछहरी गाउँपालिकाले पालिका स्तरीय ५२ र वडा स्तरीय ४८ गरी कुल १०० योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कमका ५२ वटा योजना रहेका छन् । ५ देखि २० लाखसम्मका योजनाको ३३ वटा र २० लाख माथिका योजनाको संख्या १५ वटा रहेको छ । लुङ्ग्री गाउँपालिकाले पालिका स्तरीय ६५ र वडा स्तरीय ७० गरी कुल १३५ योजनामा बजेट विनियोजन गरेकोमा ५ लाख भन्दा कमका ७४ वटा योजना रहेका छन् । ५ देखि २० लाखसम्म ३७ वटा योजना र २० लाख माथिका योजनाको संख्या २४ वटा रहेका छन् ।
रोल्पा नगरपालिकामाले पालिका स्तरीय ११० र वडा स्तरीय ८८ गरी कुल १९८ योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कम १३० वटा योजना रहेका छन् । ५ देखि २० लाखसम्म ४८ र २० लाख माथिका योजनाको संख्या २० वटा रहेकोे छ । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा पालिका स्तरीय ५४ र वडा स्तरीय ७५ वटा योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कमका योजना १२९ वटा रहेको देखिन्छ । पालिकामा ५ लाखदेखि २० लाखसम्मका योजना ३ वटा र २० लाखभन्दा माथिका योजना २९ वटा मात्र रहेको देखिन्छ ।
रुन्टीगढी गाउँपालिकाले पालिका स्तरीय १११ र वडा स्तरीय २०५ गरी कुल ३१६ योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कमका १९२ वटा योजना रहेका छन् । ५ देखि २० लाखसम्म १०७ र २० लाखमाथिका योजनाको संख्या १७ वटा रहेका छन् । माडी गाउँपालिकाले पालिका स्तरीय ४६ र वडा स्तरीय ७९ गरी कुल १२५ योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कमका ८२ वटा योजना रहेका छन् । ५ देखि २० लाखसम्म ३० वटा र २० लाख माथिका योजनाको संख्या १३ वटा छन् ।
परिवर्तन गाउँपालिकाले पालिका स्तरीय ७५ र वडा स्तरीय १९३ गरी कुल २६८ योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कमका १८५ वटा योजनारहेका छन् । ५ देखि २० लाखसम्म ५५ वटा र २० लाख माथिका योजनाको संख्या २८ वटा छन् । थबाङ गाउँपालिकाले पालिका स्तरीय ८० र वडा स्तरीय ४९ गरी कुल १२९ योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कमका ७८ वटा योजनारहेका छन् । ५ देखि २० लाखसम्म ३५ वटा र २० लाखमाथिका योजनाको संख्या १६ वटा छन् ।
त्रिवेणी गाउँपालिकाले पालिका स्तरीय ५७ र वडा स्तरीय २०३ गरी कुल २६० योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कम २०५ वटा योजनारहेका छन् । ५ देखि २० लाखसम्म ४० वटा र २० लाख माथिका योजनाको संख्या १५ वटा रहेका छन् । र गंगादेव गाउँपालिकाले पालिका स्तरीय ५४ र वडा स्तरीय १४६ गरी कुल २०० योजनामा बजेट विनियोजन गरेकोमा ५ लाखभन्दा कम १२९ वटा योजना रहेका छन् । ५ देखि २० लाखसम्म ६१ वटा र २० लाख माथिका योजनाको संख्या १० वटा मात्र रहेको अवस्था छ ।
रोल्पा नगरपालिकाका स्थानीय टिकाराम घर्तिमगर स्थानीय तहहरुले बनाउने यस्ता खालका योजनाहरु नितान्त कार्यकर्ताका लागि बाँडफाँट गरेको जस्तो देखिने बताउँछन् । ‘टुक्रे योजना बनाउने रोग त स्थानीय सरकारमा मात्र होइन, संघ र प्रदेश सरकारमा पनि छ’, उनले भने ‘त्यसकारण कामको गुणस्तर नै देखिदैन्, कतिपय ठाउँमा सानासाना योजना पनि अति आवश्यक त छन्, तर सरकार धेरै योजना बनाउँछ अनी कार्यान्वयन हुन नसक्दा फिर्ता पनि जान्छ ।’ मुख्य आवश्यकतामा केन्द्रित भएर बजेट बनाउन तर्फ ध्यान दिन आवश्यक रहेको उनको तर्क छ ।
स्थानीय तहले बनाउने यस्ता खालको कार्यक्रमका कारण स्थानीय तहका जनप्रतिनिधिहरुले कार्यकर्तालाई पस्नका लागि सानासाना योजनामा ध्यान दिने गरेको आरोप समेत लाग्ने गरेको छ । भने यस्ता खालको योजनाको गुणस्तरमा समेत प्रश्न खडा हुने गर्दछ । तर स्थानीय तहका जनप्रतिनिधिहरु भने स्थानीयको आवश्यकतामा आधारित रहेको बताउँछन् । सानासाना योजनाहरु पनि जनताका लागि राहत पुग्ने खालका हुने जनप्रतिनिधि बताउँछन् ।
स्थानीय तहले प्रत्येक वर्ष साना साना योजनाहरुलाई बढी प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने गरेको देखिन्छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनमा यस्तो देखिएको हो । प्रतिवेदनले साना योजनाहरु सञ्चालन गर्दा सञ्चालित योजनाबाट प्रतिफल प्राप्त नहुनुका साथै चालु प्रकृतिका खर्चमा वृद्धि भई लागत प्रभावी नहुने तथा निर्माण कार्यको गुणस्तरमा समेत प्रश्न उठ्ने गरेको जनाएको छ । प्रतिवेदनले प्रतिफलमुखी र रोजगारी सिर्जना गर्ने खालका ठुला योजनालाई प्राथमिकता दिनुपर्ने सुझाब दिएको छ ।





प्रतिक्रिया दिनुहोस्