मालश्री खबर, साउन २८ रोल्पा । अविरल वर्षापछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने अन्य ५ जना अझै बेपत्ता छन् ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखा पुन मगर छन् ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरू दुवै जनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारका लागि बुटवलतर्फ पठाइएको छ ।
पहिरोमा परी मृत्यु भएकामध्ये एक महिला र दुई पुरुषको शव प्यूठानको स्वर्गद्वारी नगरपालिका र माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेको हो । बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् । बेपत्ता भएकाहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खटिएका छन् ।





प्रतिक्रिया दिनुहोस्