Ad image

रोल्पामा १ लाख बिरुवा उत्पादन

malashree
malashree २० श्रावण २०८३, बुधबार
5 Min Read
Aa

भरत विश्वकर्मा
रोल्पा । डिभिजन वन कार्यालय रोल्पाले विभिन्न प्रजातीको बिरुवाहरु उत्पादन गर्दै वितरण गर्दै आएको छ । जिल्लाका विभिन्न सब डिभिजन वन कार्यालयहरुको नर्सरीमा आफै उत्पादन गरेर र बाहिरबाट खरिद गरेर बिरुवा वितरण गर्दै आएको छ । गत आर्थिक वर्ष २०८२÷८३ मा वन कार्यालयले विभिन्न प्रजातीको १ लाख भन्दा बढी विरुवा उत्पादन गरी सामुदायिक वन, कवुलियत वन समूह, कृषक समूह, विद्यालय, स्थानीय तह आदीलाई ८० हजार बराबरको विरुवा वितरण गरेको छ । डिभिजन वन कार्यालय रोल्पाले टिमुर, चिउरी, किम्बु, कपुर, तेजपात, हर्राे, बर्राे, अमला, अल्लो, अम्बा लगायत विभिन्न प्रजातीका बिरुवाहरुको उत्पादन गर्दै निशुल्क रुपमा वितरण गर्दै आएको छ ।

एक लाख बढी विरुवा उत्पादनः
गत आर्थिक वर्ष २०८२÷८३ मा डिभिजन वन कार्यालय रोल्पाले १ लाख ८ हजार बिरुवा उत्पादन गरेको छ । वन कार्यालयले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा ६२ हजार ७३६ एक वर्षिय बिरुवा र ४५ हजार बहु वर्षिय बिरुवा उत्पादन गरेको छ । जिल्लाको ६ वटा सब डिभिजन वन कार्यालयमा रहेको नर्सरीहरुबाट सो परिणाममा विरुवा उत्पाद गरिएको हो । लिबाङ सब डिभिजन वन कार्यालयबाट एक वर्षिय बिरुवा १२ हजार ५३६ र बहु वर्षिय बिरुवा ९ हजार, जलजला सब डिभिजन वन कार्यालयबाट एक वर्षिय बिरुवा आठ हजार ३ सय र बहु वर्षिय बिरुवा ७ हजार २ सय, त्रिवेणी सब डिभिजन वन कार्यालयबाट एक वर्षिय बिरुवा ८ हजार ४ सय र बहु वर्षिय बिरुवा ६ हजार ४ सय, सुनछहरी सव डिभिजन वन कार्यालबाट एक वर्षिय बिरुवा ८ हजार ३ सय र बहु वर्षिय बिरुवा ६ हजार ४ सय, रुन्टीगढी सब डिभिजन वन कार्यालयबाट एक वर्षिय बिरुवा १२ हजार ५ सय र बहु वर्षिय बिरुवा ८ हजार विरुवा र माडी सब डिभिजन वन कार्यालयबाट एक वर्षिय बिरुवा १२ हजार ५ सय र बहु वर्षिय बिरुवा ८ हजार ३ सय विरुवा उत्पादन गरिएको डिभिजन वन कार्यालय रोल्पाले जानकारी दिएको छ ।

८० हजार विरुवा वितरणः
एक वर्षको अवधिमा वन कार्यालयले ८० हजार बराबरको बिरुवा विभिन्न सामुदायिक वन, कवुलियत वन, विद्यालय, स्थानीय तह आदीलाई वितरण गरेको छ । एक वर्षे विरुवा २० हजार एक सयको हाराहारीमा वितरण गरिएको छ भने वहुवर्षिय बिरुवा ६० हजारको हाराहारीमा वितरण गरिएको छ । सोही अवधिमा वन कार्यालयले टिमुर, सतुवा, पदमचाल, देवदार, आँप, लिचि आदी प्रजातीका ४७ हजार बिरुवा अन्यत्रबाट खरिद गरी निशुल्क रुपमा वितरण गरेको डिभिजन वन कार्यालय रोल्पाका कार्यालय प्रमुख यज्ञमुर्ति खनालले जानकारी दिए । ‘वर्षेनी रुपमा हामीले निशुल्क रुपमा बिरुवा वितरण गरिरहेको छौ’, कार्यालय प्रमुख खनालले भने ‘जिल्लामा उत्पादन हुन नसकेको अवस्थामा हामीले बाहिरबाट खरिद गरेर वितरण गर्ने गरेका छौँ ।’

वन कार्यालयले यस वर्ष निजी, सामुदायिक तथा कबुलियति वन क्षेत्रमा वृक्षरोपणको लागि टिमुर २२ हजार पाँच सय, सतुवा ९ हजार, पदमचाल ८ हजार तिन सय, देवदार २ हजार पाँच सय, सुन्तला ७ हजार, कागती ७ हजार, आँप २ हजार ९ सय तथा लिची २ हजार २ सय बिरुवा खरिद गरी निःशुल्क ढुवानी सहित वितरण गरिएको जनाएको छ । त्यसैगरी जलजला सब डिभिजन वन कार्यालय अन्तर्गतको दुईखोली सुवाखोला सामुदायिक वन क्षेत्रमा ७.० हेक्टर क्षेत्रफलमा १० हजार पाँच सय खोटेसल्ला, ४२५ देवदार र १ हजार खरी प्रजातिको वृक्षरोपण गरेको जनाएको छ । यसैगरी रून्टीगढी सब डिभिजन वन कार्यालय अन्तर्गतका प्रगति सल्लेरी सामुदायिक वन, धुम्बास सामुदायिक वन, मुरुल्ले रानीवन सामुदायिक वन क्षेत्रमा करिब ४.८ हेक्टर वन क्षेत्रमा खोटेसल्ला, पाषणवेद, टिमुर, अमला, बकाइनो, तेजपात लगायतका विभिन्न प्रजातिका बिरुवाहरू वृक्षरोपण तथा पुनःरोपण गरेको वन कार्यालयले जनाएको छ ।

- Advertisement -
Ad image

जिल्लामा रहेका ५८ वटा कबुलियती वनहरूमध्ये विभिन्न ४ वटा कबुलियती वन क्षेत्रको ४.४ हेक्टर क्षेत्रफलमा अमृसो रोपण, विभिन्न ९ वटा कबुलियति वन क्षेत्रको ५.४३ हेक्टर क्षेत्रफलमा टिमुर, पदमचाल, सतुवा र देवदारको वृक्षरोपण गरेको । त्रिवेणी सव डिभिजन वन कार्यालय अन्तर्गतको मुरुल्लेधुरी सामुदायिक वनको टिमुरवाङ क्षेत्रमा रोपण गरिएको टिमुर संरक्षणका लागि ५६० मिटर लम्बाईमा जालीदार तारवार गरिएको साथै उक्त क्षेत्रको २.३४ हेक्टर क्षेत्रमा टिमुर गोडमेल तथा पुनः रोपणको कार्य गरिएको जनाएको छ ।

malashree

प्रतिक्रिया दिनुहोस्