Ad image

गुम्चाल स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण

malashree
malashree १९ श्रावण २०८३, मंगलवार
3 Min Read
Aa

मालश्री खबर, साउन १९ रोल्पा । लुङ्ग्री गाउँपालिकाले ग्रामीण भेगका नागरिकलाई सहज, गुणस्तरीय र समयमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ गुम्चाल स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउण्ड मेसिन हस्तान्तरण गरेको छ। गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले एक कार्यक्रमका बीच मेसिन हस्तान्तरण गर्नुभएको हो ।

मेसिन जडानसँगै अब लुङ्ग्री गाउँपालिकाभित्र बडाचौर स्वास्थ्य चौकी र गुम्चाल स्वास्थ्य चौकीबाट भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) सेवा सञ्चालन हुने भएको छ। यसबाट विशेषगरी गर्भवती महिला, ज्येष्ठ नागरिक, दीर्घरोगी तथा अन्य बिरामीले गाउँमै सहज रूपमा स्वास्थ्य परीक्षण सेवा पाउने अपेक्षा गरिएको छ।

गाउँपालिकाले ग्रामीण क्षेत्रमा सामान्य स्वास्थ्य परीक्षणका लागि समेत जिल्ला सदरमुकाम वा अन्य सहर धाउनुपर्ने बाध्यता अन्त्य गर्ने लक्ष्यसहित स्वास्थ्य क्षेत्रमा निरन्तर लगानी गर्दै आएको जनाएको छ। सोही अभियानअन्तर्गत गुम्चाल स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा विस्तार गरिएको हो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भरतकुमार थापाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले त्यसलाई सहज र प्रभावकारी बनाउनु स्थानीय सरकारको प्रमुख दायित्व भएको बताउनुभयो। उहाँले स्वास्थ्य पूर्वाधार विकास, आधुनिक उपकरण व्यवस्थापन तथा दक्ष जनशक्ति परिचालनलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्दै ग्रामीण नागरिकलाई गाउँमै गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

- Advertisement -
Ad image

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालले अल्ट्रासाउण्ड सेवा सञ्चालनसँगै समयमै रोग पहिचान गर्न सहज हुने, नागरिकको आर्थिक भार घट्ने तथा उपचार प्रक्रिया थप प्रभावकारी बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले दीर्घकालीन रूपमा सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ।

स्वास्थ्य शाखा प्रमुख कुमारी विष्टले गुम्चाल स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड मेसिन जडानसँगै सेवा सञ्चालनको आवश्यक तयारी पूरा भएको जानकारी दिनुभयो। उहाँले अब बडाचौर स्वास्थ्य चौकीसँगै गुम्चाल स्वास्थ्य चौकीबाट पनि भिडियो एक्स–रे सेवा उपलब्ध हुने भएकाले सेवाग्राहीलाई सहज पहुँच मिल्ने बताउनुभयो।

विशेषगरी गर्भवती महिलाले नियमित गर्भ परीक्षणका लागि जिल्ला अस्पताल वा निजी स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता धेरै हदसम्म कम हुने विश्वास गरिएको छ। समयमै परीक्षण गर्न सकिने भएकाले मातृ तथा शिशु स्वास्थ्य सुधारमा समेत यस सेवाले महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीले गाउँपालिकाको यस पहललाई सकारात्मक रूपमा लिँदै गाउँमै आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुन थालेपछि उपचारका लागि लामो दूरी तय गर्नुपर्ने अवस्था घट्ने, समय र खर्च दुवै बचत हुने तथा आपत्कालीन अवस्थामा समेत छिटो सेवा प्राप्त गर्न सकिने अपेक्षा व्यक्त गरेका छन्।

malashree

प्रतिक्रिया दिनुहोस्