Ad image

होलीभिजन बोर्डिङ स्कुलमा दोस्रो अभिभावक भेला सम्पन्न

malashree
malashree १८ श्रावण २०८३, सोमबार
1 Min Read
Aa

मालश्री खबर, साउन १८ रोल्पा । होलीभिजन बोर्डिङ स्कुलकाे यस शैक्षिक सत्रको दोस्रो अभिभावक भेला आइतबार सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदरप्रसाद सुबेदीको अध्यक्षतामा उक्त भेला सम्पन्न भएको हो ।

भेलामा एक सयभन्दा बढी अभिभावकको सहभागिता रहेको थियो । सहभागी अभिभावकहरूले बोर्डिङ स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरूको अनुशासन, हस्तलेखन (हेन्डराइटिङ), अंग्रेजी बोलचाल तथा नैतिक आचरणलाई सानो कक्षादेखि नै अनिवार्य रूपमा सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।

यसका लागि सबै शिक्षकहरू थप जिम्मेवार र सक्रिय हुनुपर्ने सुझाव अभिभावकहरूले राखेका छन् । यसैगरी, बिदाको समयलाई सदुपयोग गराउन कोचिङ कक्षाहरू सञ्चालन गर्नुपर्ने सुझाव पनि अभिभावकहरूले दिएका छन् ।

कार्यक्रममा शिक्षकहरूले विद्यार्थीहरूमा गृहकार्य पूरा नगर्ने, अध्ययनप्रति रुचि नदेखाउने तथा अनुशासनमा कमी हुने जस्ता समस्याका कारण अपेक्षित नतिजा हासिल गर्न कठिनाइ भइरहेको बताएका थिए । यस्ता समस्याको समाधानका लागि विद्यालय, अभिभावक र विद्यार्थीबीच निरन्तर समन्वय, सहकार्य र आपसी सल्लाह आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

- Advertisement -
Ad image

भेला कार्यक्रममा बोल्दै अध्यक्ष दामोदरप्रसाद सुबेदीले विद्यालयले हालसम्म विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापका प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको बताउनुभयो ।

साथै आगामी दिनमा देखिएका कमी–कमजोरीलाई विद्यालय, शिक्षक र अभिभावकबीच त्रिपक्षीय छलफलमार्फत समाधान गर्दै विद्यालयलाई अझ उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका प्रिन्सिपल ओम केसीले गर्नुभएकाे थियाे ।

malashree

प्रतिक्रिया दिनुहोस्