रोल्पा,१७साउन । रोल्पामा पनि कोदो दिवस मनाइएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका–६, गुम्चालमा दोस्रो राष्ट्रिय कोदो दिवस–२०८३ विभिन्न कार्यक्रमसहित मनाइएको छ। कृषि ज्ञान केन्द्र रोल्पाको आयोजनामा सम्पन्न दिवसले स्थानीय कृषि उत्पादनको प्रवर्द्धनसँगै कोदोको महत्व र सम्भावनाबारे चर्चा गरेको छ ।
कार्यक्रम लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्री तुलसीप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जिल्ला समन्वय समिती प्रमुख सीता आचार्य, लुम्बिनी प्रदेश सरकारका सचिव डा.जानुका पण्डितको विशिष्ट आतिथ्यता रहेको थियो भने जिल्लाका कृषि क्षेत्रसँग सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, किसान, कृषि उद्यमी, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताहरूले कोदो नेपाली समाजको परम्परागत खाद्य बाली मात्र नभई पछिल्लो समय स्वास्थ्य र पोषणका दृष्टिले समेत महत्वपूर्ण बन्दै गएको बताएका थिए। ग्रामीण क्षेत्रमा उत्पादन हुने कोदोलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्न सके किसानको आम्दानी बढाउन, स्थानीय रोजगारी सिर्जना गर्न र आयातित खाद्यान्नमाथिको निर्भरता घटाउन सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
नेपालका पहाडी तथा ग्रामीण क्षेत्रमा लामो समयदेखि खेती हुँदै आएको कोदो पछिल्लो पुस्तामा खेती गर्ने क्रम घट्दै गएको अवस्थामा यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको कार्यक्रममा चर्चा गरिएको थियो। बदलिँदो जीवनशैलीसँगै स्वास्थ्यप्रति बढ्दो सचेतनाका कारण कोदोबाट बनेका परिकारको माग बढ्दै गएकाले यसको उत्पादनलाई आधुनिक प्रविधि र बजारसँग जोड्नुपर्नेमा समेत जोड दिइएको थियो।
कोदो पौष्टिकताका हिसाबले महत्वपूर्ण अन्नका रूपमा लिइन्छ। यसबाट ढिँडो, रोटी, हलुवा लगायतका विभिन्न परिकार बनाउन सकिन्छ। स्थानीयस्तरमा उत्पादन हुने यस्ता रैथाने बालीको संरक्षण र प्रवर्द्धनले खाद्य तथा पोषण सुरक्षामा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा कोदो खेतीमा संलग्न किसानहरूले उत्पादनका क्रममा भोग्नुपरेका समस्या, बजारको अभाव, उचित मूल्य नपाउने अवस्था तथा आधुनिक कृषि प्रविधिको आवश्यकता लगायतका विषयमा समेत ध्यानाकर्षण गराएका थिए। किसानले उत्पादन गरेको कोदोलाई स्थानीय बजारसँगै जिल्लाबाहिरका बजारसम्म पुर्याउन सके यसको व्यावसायिक सम्भावना अझ बढ्ने उनीहरूको अपेक्षा छ।





प्रतिक्रिया दिनुहोस्