छाया पुन (छपी),
मालश्री खबर, मंसिर १० रोल्पा । रोल्पा जिल्ला लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला । यहाँ पयर्टक रमाउने कयौं ठाउँ छन् । अग्ला पहाड छन् । ती पहाड मुनि सुन्दर बस्ती । कतै समथर भूभाग छ त कतै खोलानाला पनि ।
रोल्पा पर्यटकको प्रशस्त सम्भावना बोकेको ठाउँ मध्यको एक हो । तर यहाँ भएका ठाउँले चर्चा नपाउँदा ओझेलमा देखिएका धेरै छन् । त्यसमा चुनारभिर पनि पर्दछ । रोल्पा जिल्लामा १० पालिका छन् । एक नगरपालिका नौं गाउँपालिका ।
एक नगरपालिकाको जसको नाम रोल्पा नगरपालिका हो । जसलाई रोल्पाको केन्द्र भनेर पनि बुझ्न सकिन्छ । यस नगरपालिकाको लिबाङमा पर्दछ सदरमुकाम । जिल्लाको प्राय पालिकामा आन्तरिक र बाह्य पर्यटक रमाउने उल्लेखनीय ठाउँ छन् ।
त्यसमध्ये यस रोल्पा नगरपालिकामा पनि घुम्न र रमाउनका लागि धेरै ठाउँ छन् । साद्दोबाटोमा रहेको जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डेन, गुरुङगाउँ र चुनारेभिर । यी सबै ठाउँले फरकफरक विशेषता बोकेका छन् ।
नगरपालिकामा १० वडा छ । यसमध्ये वडा नम्बर २ मा पर्दछ चुनारेभिर । लिबाङबाट पैदल यात्रामा आधा घण्टा र सवारी साधनमा १० मिनेटमा रेउघा पुग्न सकिन्छ ।
रेउघा पुगेपछि मेन रोडलाई छोडेर थोरै उकालो लाग्नुपर्छ । उकालो लाग्ने ठाउँमा चुनारेभिर जाने बाटो भनेर साइनबोर्ड पनि राखिएको छ । आसपासमा नास्तापसल र किराना पसल छन् । त्यहाँबाट आफुलाई आवश्यक पर्ने खानेकुरा लैजान सकिन्छ ।
यहाँसम्म सडक पक्की नै छ । किनकी नजिकै बसपार्क पनि छ । बसपार्क नजिक कच्ची सडक हुदैं चुनारभिर जानुपर्दछ । केहिसमय हिडेपछि पिताराज आधारभूत विद्यालय आउँछ । त्यो विद्यालय आसपास क्षेत्रलाई खैबाङ भनिदो रहेछ । बस्ती निकै सुन्दर छ । प्राय किसानका घरमा भैंसी पालेको देख्न सकिन्छ । त्यस्तै त्यसबस्तीमा तरकारी खेती गरेको पनि देख्न सकिन्छ ।
यसबस्तीलाई पार गरेपछि सिबाङ भन्ने बस्ती भेटिन्छ । यहाँ कतै साईनबोर्ड राखिएको छैन । चुनारेभिर जानका लागि भनेर । स्थानीयसँग सोधपुछ गर्दै अघि बढ्न सकिन्छ । यहाँ पनि किसानको बारीमा गहँु, तोरि र केहिको बारीमा तरकारी अनि भैंसी, बाख्रा, गाई पालेको देखिन्छन् बाटोको आसपास । यस क्षेत्रमा सुन्तला पनि केहि मात्रामा पाइदो रहेछ ।
सिबाङसम्म अटो जाने कच्ची सडक छ । बस्ती छाडेपछि जंगल भेटिन्छ । सल्ला लगायत विभिन्न प्रजातीको बोटविरुवाले ढाकेको सुन्दर र भिरालो ठाउँ । वरपर केहि बस्ती पनि देखिन्छन् । बिचमा ट्यांकी निर्माण गरिएको छ । साथमा एउटा पोखरीपनि छ । साहेद पोखरी सिचाईका लागि र गाईबस्तु चरीचरणका लागि निर्माण गरिएको हुनुपर्छ ।
यहाँबाट थोरै अगाडी बढेपछि चुनारेभिर आउँछ । यहाँ पुगेपछि मान्छेले स्वर्ग पुगेको अनुभुति पक्कै गर्दछ । यो भिरमा पुग्न रेउघाबाट आधा घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ । यहाँ जान अटोबाट पनि जानसकिन्छ सिबाङसम्म भने मोटरसाइकलबाट भिरसम्म नै पुग्नसक्ने व्यवस्था छ ।
यसबीचमा पैदल यात्रा गर्नेका लागि पहिलो पटक जाने पयर्टकले बाटो पहिल्याउन मुस्किल छ । किनकी बाटोमा फोहोर मलाई भनेर डस्टविनका बक्स मात्र कतै–कतै राखिएका छन् । तर चुनारेभिर जानेबाटो भनेर कुनै पनि साइनबोर्ड राखिएको छैन ।
चुनारेभिर पुगेपछि मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ । भिरको टुप्पोमा नै पिङ निर्माण गरिएको छ । वरिपरिका बस्ती नियालेर हेर्नका लागि आरामदायी फलामबाट निर्मित बेञ्चको व्यवस्था पनि छ । पानी पर्दा होस् या घामले पोल्दा होस् ओत लाग्ने प्रतिक्षालय छ । त्यसको साथैमा नाचँगान गर्न सकिने चौतारी बनाइएको छ । अनि टाढाटाढाको फोटो, भिडियो लिन र अवलोकन गर्न सकिने गरि मिनि भ्यू टावर निर्माण गरिएको छ ।
भिरको छेउछाउतिर तारजालि लगाइएको छ । जसले यात्रीहरु रमाउनेक्रममा आफ्ना सामान झरेमा छेक्न मद्दत गरेको छ । मुनिबाट माडीखोला सुसेली हान्दै बगेको छ । माडीको सिरेटोले भिरमा रमाउने यात्रीलाई आनन्दित दिलाउछ ।
यस ठाउँबाट जङकोट, जापा, कोटगाउँ, कोजक लगायत परपरसम्म दृष्यावलोक गर्न सकिन्छ । हरियाली वनजंगल, चराचुरुङगीको चिरविर आवाज । बगीरहेको माडीखोला । माडीचौरको बस्ती । त्यहाँपुगेपछि न आँखा चिम्लन्छ । न त मनले छाड्न मन लाग्छ । प्रकृतिको चमत्कार के लाग्छ भन्नेहरुले चुनारेभिर अवलोकन गर्नै पर्छ ।
चुनारेभिरमा पनि फोहर मलाई लेखिएको डस्टविन राखिएको छ । अनि फोहोर जम्माका लागि डम्पिङ पनि निर्माण गरिएको छ । साथै नजिकै शौचालय पनि छ । तर शौचालयको अवस्था नाजुक छ । पानीका लागि धारा निर्माण छ । ड्रम छ । तर बेवारिसे अवस्थामा छ । यसका लागि स्थानीयबासी, संरक्षण समिति र सम्बन्धित सरोकारवालाको ध्यान जान आवश्यक छ ।
यसभीरमा दुई वटा साइनबोर्ड राखिएका छन् । एकमा पयर्टकलाई सावधान गराइएको छ भने अर्काे बोर्ड हेर्न सकिने अवस्थामा छैन । यहाँ एक जना स्थानीय संरक्षण समितिबाट राखिनुपर्ने देखिन्छ । किनकी अवलोकन गर्न आएका पर्यटकले यहि क्षेत्रबाट सबै ठाउँ जान्ने अवसर मिलोस् । या त साइनबोर्ड राखिनुपर्छ । जसमा चुनारेबाट देखिएका सबै ठाउँको नाम समावेश होस् । पर्यटकलाई चिन्न सजिलो होस् ।
पहिलो पटक आउने पर्यटकका लागि चुनारेभिर नाम मात्र याद हुन नदिन जानकारीमुलक बोर्डको आवश्यक छ । किनभने यहाँबाट बस्ती केहि टाढा पर्नेभएकाले जानकारी लिनका लागि गाह्रो छ । साथसाथै यहाँ आउने सडक सुधार हुन आवश्यक छ । मोटरसाइकल आउने सडक छ । तर माथिबाट पहिरो खसेका कारण निकै नाजुक अवस्थाको छ । जहाँ मान्छे हिड्न मिल्ने मात्र साँघुरो सडक छ ।
यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउन सक्ने सम्भावना धेरै मात्रा छ । यसका लागि संरक्षण समितिले निर्माण गरिएको संरचनाको संरक्षणका लागि खट्नुपर्ने देखिन्छ ।







प्रतिक्रिया दिनुहोस्