रोल्पा,२५ भाद्र । रोल्पा नगरपालिकाकै विभिन्न बस्तीहरु विद्युतको पहुँचबाट बाहिर रहेका छन् । रोल्पा नगरपालिकाका विभिन्न दुर्गम तथा विद्युत् सेवाबाट वञ्चित बस्तीमा तत्काल विद्युत् सेवा विस्तार गर्न माग गरिएको छ । नगरपालिकाका विभिन्न बस्तीहरुमा विद्युत विस्तारका लागि सम्बन्धित निकायमा पटकपटक माग गर्दा पनि सुनुवाई नभएपछि संघर्ष समिति बनाएर ध्यानाकार्षण गराएका हुन् ।
नगरपालिकाका विभिन्न बस्तीमा लामो समयदेखि विद्युत् सेवा उपलब्ध हुन नसकेको भन्दै स्थानीयले नेपाल विद्युत् प्राधिकरण रोल्पा वितरण केन्द्रसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । संघर्ष समितिका संयोजक फबिन्द्र आचार्यले वर्षौ देखि विद्युत् सेवा विस्तारको आश्वासन दिएपनि समस्या समाधान नभएको बताए । स्थानीयले रोल्पा नगरपालिका–१० का पेवा, भोकासिबाङ, थाम बझाङ्गे, लुङजुङ, कासाबाङ, धनपोखरा, लुडुखुङ, खारवनलगायतका बस्तीमा विद्युत् सेवा विस्तार गर्न माग गरेका छन् । यसैगरी वडा नं. ९ को क्वापाताल, कतुम, गुन्थल, लेखवन, हाङबाङ, गोलबाङ र फाल्जा तथा वडा नं. ८ का भेरिखोला, खुमबासा, दरखनलगायतका स्थानमा समेत विद्युत् सेवा विस्तार गर्नुपर्ने माग छ ।
वडा नं. ७ को धापा तथा वडा नं. ५ का गोगनपानी, छाप, भलबाङ, मझुवा, बाठाचौर, फुर्काटोल लगायतका स्थानमा समेत अझै विद्युत् सेवा पर्याप्त नभएको स्थानीयले बताएका छन् । विद्युत् अभावका कारण विद्यार्थीले परम्परागत तरिकाले टुकी र दियालोको भरमा पढ्नुपर्ने बाध्यता रहेको स्थानीयको भनाइ छ ।स्थानीयले नजिकैका बस्तीमा विद्युत् पुगे पनि आफूहरू अझै अँध्यारोमा बस्नुपरेको भन्दै सम्बन्धित निकायप्रति असन्तुष्टि जनाएका छन् । मुख्य लाइन पुगेका ठाउँमा समेत ट्रान्सफर्मर जडान हुन बाँकी रहेको, कतिपय स्थानमा शाखा लाइन विस्तार नभएको र लघु जलविद्युत् आयोजना भरपर्दो नभएको आचार्यले बताए । उनले तत्काल काम अघि बढाउन र ठेक्का लागिसकेको स्थानमा निर्माण कार्य अगाडि बढाउन माग गरेका छन् । ठेक्का नलागेका स्थानमा समेत तत्काल ठेक्का प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
स्थानीय नागरिकसँगै विद्युत कार्यालय पुगेका नगरपालिका भित्रका केही जनप्रतिनिधिहरुले रोल्पा जिल्ला भर पुर्ण विद्युतिकरण आयोजनाले काम गर्छ भनेर आफुहरुलाई भ्रममा पारेको भन्दै आक्रोस पोखेका छन् । पुर्ण विद्युतिकरण आयोजनाले रोल्पा नगरपालिकामा काम गदैन् भन्ने कुरा सुरुमै थाहा पाएको भए आज सम्म यसरी नागरिकहरु अन्धकारमा बस्ने दिनको पहिल्यै अन्त्य हुन सक्ने समेत उनिहरुले बताएका छन् ।
माग सम्बोधन नभए संघर्षमा जान बाध्य हुने चेतावनी स्थानीयले दिएका छन् । त्यस पछि उत्पन्न हुने जस्तो सुकै परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष र विद्युत् प्राधिकरण हुनु पर्ने चेतावनी दिएका छन् ।





प्रतिक्रिया दिनुहोस्