रोल्पा,२१ भाद्र । त्रिवेणी गाउँपालिका–५, जुगारस्थित नेर्पा स्वास्थ्य चौकीमा एकदिने बृहत् आँखा शिविर सम्पन्न भएको छ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान तथा तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको आयोजनामा शनिबार दृष्टि परीक्षण, मोतिबिन्दु छनोट तथा चश्मा जाँचसहितको बृहत् आँखा शिविर सञ्चालन गरिएको हो।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाको समन्वय, द फ्रेड हलोज फाउन्डेसनको आर्थिक सहयोग तथा त्रिवेणी गाउँपालिका र वडा नम्बर ५ कार्यालय जुगारको सहकार्यमा आयोजित शिविरमा २८३ जनाले सेवा लिएका छन्।
शिविरमा मोतिबिन्दु भएका १० जना बिरामीलाई शल्यक्रियाका लागि सिफारिस गरिएको आयोजकले जनाएको छ। सिफारिस भएका बिरामीको मोतिबिन्दु शल्यक्रिया यही भदौ २७ र २८ गते तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रोल्पाको लिवाङस्थित नयाँ भवनमा सञ्चालन हुने शिविरमा गरिनेछ।
उक्त शल्यक्रिया शिविरमा नेपाल आँखा कार्यक्रम तथा तिलगंगा आँखा प्रतिष्ठान, गौशाला काठमाडौंका दक्ष तथा अनुभवी वरिष्ठ नेत्ररोग विशेषज्ञ चिकित्सकबाट मोतिबिन्दु तथा अन्य आवश्यक आँखासम्बन्धी शल्यक्रिया गरिने बताइएको छ।





प्रतिक्रिया दिनुहोस्