रोल्पा,२० भाद्र । लुङ्ग्री गाउँपालिकाको कार्यपालिका बैठक पहिलोपटक गाउँपालिकाको कार्यपालिका भवनबाहिर पर्यटकीय स्थल थाम लेकमा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न बैठकले पछिल्लो समय विभिन्न स्थानमा भएका विपद्का घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । बैठकले विपद्का कारण ज्यान गुमाएका लुङ्ग्री गाउँपालिकाका नरबहादुर खत्री र अम्मी गुरुङ लगायत भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ताको शीघ्र खोज तथा उद्धारको कामना गरेको छ ।
बैठकले गाउँपालिकाभित्र गठित विपद् व्यवस्थापन उपसमितिहरूले तयार पारेका प्रतिवेदन जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ । विपद्का घटनाबाट प्रभावित नागरिक तथा परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउन आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
बैठकले विपद् व्यवस्थापनका लागि कर्मचारी, शिक्षक तथा जनप्रतिनिधिबाट आर्थिक योगदान गर्ने निर्णय गरेको छ । संघीय नियमानुसार गाउँपालिकाका कर्मचारी तथा शिक्षकबाट र जनप्रतिनिधिबाट १५ दिन बराबरको मासिक भत्ता जम्मा गरी उक्त रकममध्ये ३० प्रतिशत प्रधानमन्त्री विपद् कोषमा र ७० प्रतिशत लुङ्ग्री गाउँपालिकाको विपद् कोषमा जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष भरतकुमार थापाले जानकारी दिनुभयो ।
पछिल्लो समय रोल्पासहित विभिन्न जिल्लामा बाढी, पहिरोलगायत विपद्का घटना बढिरहेका बेला स्थानीय तहले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो निर्णय गरेको उहाँले जानकारी दिनुभएको छ ।
बैठकका क्रममा थाम लेकको पर्यटकीय सम्भावना, स्थानीय विकास तथा विपद् व्यवस्थापनका विषयमा समेत छलफल भएको बताइएको छ । गाउँपालिकाले नियमित कार्यपालिका बैठकलाई गाउँपालिकाका विभिन्न पर्यटकीय तथा महत्वपूर्ण स्थानमा आयोजना गर्दै स्थानीय सम्भावना र समस्याबारे प्रत्यक्ष छलफल गर्ने अभ्यासको सुरुवात गरेको जनाएको छ । थाम लेकमा सम्पन्न बैठकले गाउँपालिकाको विकास, पर्यटन प्रवद्र्धन तथा विपद् व्यवस्थापनका क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्