रोल्पा,१९ भाद्र। रोल्पाबाट गत आर्थिक वर्ष २०८२/८३ मा करिब ६० करोड रुपैयाँ बराबरको रकम खर्च हुन नसकेर फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाले दिएको जानकारी अनुसार जिल्लाबाट ५९ करोड ७९ लाख रुपैयाँ बजेट फिर्ता गएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा विकासका लागि संघ र प्रदेश सरकारबाट विभिन्न शिर्षकमा प्राप्त भएको रकम खर्च हुन नसकी फिर्ता गएको हो ।
जिल्लाबाट खर्च नभई फिर्ता हुने बजेटमा संघिय सरकारतर्फको बजेट धेरै रहेको छ । फिर्ता हुने बजेटमा संघतर्फ बजेट ३१ करोड ८१ लाख २८ हजार रुपैयाँ अर्थात् करिब ३७ प्रतिशत रहेको छ । भने प्रदेशतर्फको बजेटमा २७ करोड ९७ लाख ७३ हजार रुपैयाँ अर्थात् २३ दशमलव ५३ प्रतिशत बजेट फिर्ता भएको छ ।
रोल्पालाई संघिय सरकारबाट ७ अर्ब ६३ करोड ५८ लाख ५३ हजार रुपैयाँ र लुम्बिनी प्रदेश सरकारबाट २ अर्ब ९८ करोड ४२ लाख ६२ हजार रुपैयाँ प्राप्त भएको थियो । जसमा संघिय सरकारको पुँजीगत बजेट पँुजीगत बजेटतर्फ ८५ करोड १४ लाख ६६ हजार रुपैयाँ रहेकोमा ५३ करोड ३३ लाख ३७ हजार रुपैयाँ खर्च भएको छ, भने लुम्बिनी प्रदेश सरकारको पुँजीगत बजेटतर्फ १ अर्ब १८ करोड ८७ लाख २४ हजार रुपैयाँ रहेकोमा ९० करोड ८९ लाख ५० हजार रुपैयाँ बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका सूचना अधिकारी हुम बहादुर सारु मगरले जानकारी दिए ।
जिल्लामा विकास निर्माणका लागि आएका बजेटहरु खर्च नभई वर्षेनी रुपमा फिर्ता जानु दुखद पक्ष हो । विनियोजन भएको बजेट मध्ये सबै बजेट खर्च नहुनुमा धेरै कारणहरु रहेको तर्क गरिन्छ । जिल्ला स्थित विकासे योजनाका कार्यालयका अनुसार बजेट खर्च नहुनुमा ऐन, कानुन बाधक बन्नु, संघ, प्रदेश र स्थानीय सरकारको बिचमा समन्वयको अभाव लगायतको कारणहरु रहेको धारणा राख्दछन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रोल्पाका प्रमुख कोष नियन्त्रक तुकमान पुनले जिल्लामा आएको सबै बजेट खर्च नहुनुमा प्रतिनिधि सभाको निर्वाचन, बजेट रोक्का गरिनु लगायतका कारण रहेको बताए । ‘सबै बजेट खर्च नहुनुमा प्रतिनिधि सभाको चुनावले पनि असर गर्यो होला’, कोष नियन्त्रक पुनले भने ‘लुम्बिनी प्रदेश सरकारले पँुजिगत बजेटको १० प्रतिशत रोक्का गरेको थियो त्यसले पनि असर ग¥यो होला अरु त त्यस्ता कारण खासै देखिदैन, यो आर्थिक वर्षमा असार २५ सम्म नै खाता चलेको थियो अघिल्लो वर्ष भने असार १५ मै बन्द भएको थिया ।’





प्रतिक्रिया दिनुहोस्