मालश्री खबर, भाद्र २० रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी रोल्पाका जिल्ला सभापति बालराम थापाको निजी निवासमा शंकास्पद गतिविधि भएको र पार्टीको झण्डा च्यातेर फालिएको भन्दै रास्वपा रोल्पा जिल्ला समितिले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
रास्वपा रोल्पा जिल्ला समितिका अनुसार सुनिलस्मृति गाउँपालिका–६, गजुलकोट, दलङ्गास्थित थापाको निजी निवासमा भदौ ८ गते राति करिब १२ः३० बजे शंकास्पद गतिविधि भएको थियो । सभापति थापा तथा उहाँका परिवारका सदस्यहरू घरमा नरहेको समयमा छिमेकीहरूले निवासको अगाडिको आँगन तथा घरको माथिल्लो भागमा अपरिचित व्यक्तिहरूको गतिविधि देखेको समितिले जनाएको छ ।
सोही राति निवासको छानामा राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा च्यातेर फालिएको अवस्थामा भेटिएको विज्ञप्तिमा उल्लेख छ । घटनाबारे जानकारी पाएपछि प्रहरी प्रशासन घटनास्थलमा पुगेर प्रारम्भिक निरीक्षण तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको रास्वपा रोल्पाले जनाएको छ ।
रास्वपाले राजनीतिक विचार तथा आस्थामा मतभिन्नता लोकतान्त्रिक व्यवस्थाको स्वाभाविक पक्ष भए पनि निजी निवासमा शंकास्पद गतिविधि गर्नु, भय–त्रास सिर्जना गर्नु तथा राजनीतिक दलको झण्डा च्यात्नु लोकतान्त्रिक संस्कार र विधिको शासनविपरीत भएको जनाएको छ ।
जिल्ला समितिले घटनाको निष्पक्ष, स्वतन्त्र तथा प्रभावकारी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, संलग्न व्यक्तिको पहिचान गर्न र दोषी पाइएमा प्रचलित कानुनअनुसार कारबाही गर्न सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग माग गरेको छ ।
साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र राजनीतिक सहिष्णुता कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ । रास्वपा रोल्पा जिल्ला समितिका सचिव हिरा बहादुर घर्तीमगरद्वारा भदौ १९ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उक्त धारणा सार्वजनिक गरिएको हो ।





प्रतिक्रिया दिनुहोस्