Ad image

अपाङ्गता भएका व्यक्तिलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे अभिमुखीकरण सम्पन्न

malashree
malashree १८ भाद्र २०८३, बिहीबार
3 Min Read
Aa

रोल्पा, १८ भाद्र । रोल्पा नगरपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा सचेत बनाउँदै आफ्ना अधिकारबारे जानकारी गराउने उद्देश्य सहित आयोजना गरिएको कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको थियो ।

रोल्पा नगरपालिकाको आयोजनामा किड्स, कोइका र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) को सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो । कार्यक्रममा नगरपालिकाभित्र रहेका विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित आधारभूत विषय, स्वास्थ्य सेवामा पहुँच, प्रजनन अधिकार तथा उपलब्ध स्वास्थ्य सेवाका बारेमा जानकारी प्रदान गरिएको थियो ।

अभिमुखीकरण कार्यक्रमकाको प्रशिक्षकको रुपमा रहेका महेश्वर घिमिरेले अभिमुखीकरणका क्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्य नागरिकसरह आफ्नो शरीर, स्वास्थ्य तथा प्रजननसम्बन्धी निर्णयमा समान अधिकार हुने विषयमा जोड दिनुभएको थियो । यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सही सूचना तथा आवश्यक स्वास्थ्य सेवा प्राप्त गर्नु प्रत्येक व्यक्तिको अधिकार भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई समेत सहज र पहुँचयोग्य सेवा उपलब्ध गराउनुपर्नेमा सहभागीहरूलाई सचेत गराइएको थियो ।

कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी गलत धारणा, भ्रम तथा सामाजिक संकोचका कारण अपाङ्गता भएका व्यक्तिहरूले भोग्नुपर्ने समस्या, स्वास्थ्य संस्थाबाट सेवा लिँदा देखिने चुनौती र त्यसको समाधानका उपायबारे समेत छलफल गरिएको किड्स नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक बाबुराम सुवेदीले बताउनुभयो । स्वास्थ्य संस्थामा जाँदा अपाङ्गतामैत्री वातावरण, आवश्यक सहयोग, सहज सूचना तथा सम्मानजनक व्यवहार आवश्यक रहेको उहाँले बताउनुभयो ।

- Advertisement -
Ad image

अपाङ्गता भएका व्यक्तिहरूलाई यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे जानकारी गराउने यस्ता कार्यक्रमले उनीहरूमा स्वास्थ्यसम्बन्धी सचेतना वृद्धि गर्नुका साथै आफ्नो अधिकारका लागि आवाज उठाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवाला संघसंस्थाबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

त्यस्तै रोल्पा नगरपालिकाभित्रका स्वास्थ्यकर्मीहरुलाई पनि एकदिवसीय अभिमुखीकरण गरिएको थियो । अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सुरक्षित मातृत्व, यौन तथा प्रजनन स्वास्थ्य सेवा अपाङ्गतामैत्री, सहज र गुणस्तरीय बनाउन रोल्पा नगरपालिका भित्रका स्वास्थ्य चौकीका सेवा अपाङ्गता भएका महिला, किशोरी तथा अन्य व्यक्तिहरूले स्वास्थ्य सेवा लिँदा भोग्नुपर्ने समस्या र उनीहरूको आवश्यकताअनुसार सेवा प्रवाह गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार तथा स्वास्थ्य सेवासम्बन्धी विद्यमान कानुनी व्यवस्था, नीति तथा प्रावधानहरूका बारेमा समेत जानकारी प्रदान गरिएको थियो । संविधान, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी कानुनी व्यवस्था तथा सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसँग सम्बन्धित प्रावधानले सबै नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको अधिकार दिएको विषयमा स्वास्थ्यकर्मीसँग छलफल भएको थियो । तिनदिनको उक्त कार्यक्रममा ३० जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरु र २३ जना स्वास्थ्यकर्मीहरुलाई तालिम प्रदान दिइएको थियो ।

  

malashree

प्रतिक्रिया दिनुहोस्