रोल्पा, १७ भदौ । थबाङ गाउँपालिका–५, उवा कोटलबारा तथा सुनछहरी गाउँपालिकाका पहिरो पीडित र मृतकका परिवारलाई नेपाल रेडक्रस सोसाइटी रोल्पाले नगद सहयोग प्रदान गरेको छ । सुनछहरी गाउँपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रममार्फत पहिरो प्रभावित तथा मृतकका परिवारलाई प्रतिपरिवार १५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । विपद्का कारण प्रभावित परिवारलाई तत्कालको आवश्यकतामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको नेपाल रेडक्रस सोसाइटी रोल्पाले जनाएको छ ।
नगद सहयोग सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, उपाध्यक्ष ननकला घर्ती, थबाङ गाउँपालिका–५ उवाका वडा अध्यक्ष बुद्धिबहादुर घर्ती तथा युवा समाजसेवी डिके रोका मगरको रोहवरमा सम्बन्धित लाभग्राही परिवारलाई वितरण गरिएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी रोल्पाका सभापति नौलसिंह पुनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, विशिष्ट अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष ननकला घर्ती र थबाङ गाउँपालिका–५ का वडा अध्यक्ष बुद्धिबहादुर घर्तीको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका अन्य अतिथिको समेत उपस्थिति थियो ।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति जुनिशकुमार बिष्टले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यालय प्रमुख मोकर्ण पुनले पहिरोबाट प्रभावित परिवारलाई वितरण गरिएको नगद सहयोगका सम्बन्धमा जानकारी गराउनुभएको थियो। उहाँले विपद्को समयमा पीडित परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउनु रेडक्रसको मानवीय दायित्व भएको बताउनुभयो ।
नगद सहयोग ग्रहण गर्दै सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन र थबाङ गाउँपालिका–५ का वडा अध्यक्ष बुद्धिबहादुर घर्तीले विपद्बाट प्रभावित नागरिकलाई सहयोग उपलब्ध गराएकोमा नेपाल रेडक्रस सोसाइटी रोल्पाप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँहरूले विपद्को समयमा स्थानीय सरकारसँगै विभिन्न सामाजिक संघसंस्थाको सहयोगले प्रभावित परिवारलाई ठूलो राहत पुग्ने बताउनुभयो ।
कार्यक्रमको समापनपछि नेपाल रेडक्रस सोसाइटीको आजीवन सदस्यतासमेत प्रदान गरिएको थियो । विपद्का कारण जनधनको क्षति व्यहोरेका परिवारलाई राहत उपलब्ध गराउने कार्यले पीडित परिवारलाई तत्कालीन आवश्यकतामा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्