मालश्री खबर, भाद्र १६ रोल्पा
रोल्पाको सुनिलस्मृति गाउँपालिकाले केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण मुख्य तथा सहायक सडकहरूमा पहिरो तथा ढुंगा खस्ने जोखिम बढेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले सूचना जारी गर्दै पैदल तथा सवारीसाधनमार्फत यात्रा गर्दा सडकको अवस्थाबारे सचेत भई सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेका छन्।
त्यस्तै, नदी किनार तथा आसपासमा बसोबास गरिरहेका नागरिकलाई सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। खेतबारीमा जाने क्रममा समेत उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ।
निरन्तर वर्षाका कारण पहिरो, ढुंगा खस्ने तथा नदीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न गाउँपालिकाले सबैमा अपिल गरेको हो।





प्रतिक्रिया दिनुहोस्