रोल्पा,११ भाद्र । स्वास्थ्य कार्यालय रोल्पाको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समिक्षा सकिएको छ । रोल्पाका सबै स्थानीय तहहरुको सहभागितामा स्वास्थ्य क्षेत्रमा भएका कामहरुको समिक्षा गर्ने उदेश्यले दुई दिन सम्म कार्यक्रम चलेको थियो ।समिक्षा कार्यक्रममा जिल्लाका विभिन्न स्थानी तहमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रम, सेवा प्रवाहको अवस्था, उपलब्धि, चुनौती तथा आगामी दिनमा गर्नुपर्ने सधारका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएका आधारभुत स्वास्थ्य सेवा, मातृ तथा शिशु स्वास्थ्य, खोप, पोषण परिवार नियोजन, रोग नियन्त्रण स्वास्थ्य शिक्षा लगायतका कार्यक्रमको प्रगति प्रस्तुत गरिएको थियो । साथै स्वास्थ्य संस्थाको जनशक्ति, औषधि तथा उपकरण अवस्था र सेवा प्रवाहमा देखिएका समस्या बारे समेत समिक्षा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख माधव राउतले जानकारी दिनुभयो ।कार्यक्रममा सहभागीहरुले स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय तह र स्वास्थ्य कार्यालय बिच थप समन्वय आवश्यक रहेको बताएका थिए ।
दुर्गम तथा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवाको गुणस्तर सुधार र नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा समेत जोड दिइएको थियो । समिक्षाबाट प्राप्त निष्कर्षका आधारमा आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रका कार्यक्रमलाई थप प्रभावकारी बनाउने, कमजोर देखिएका सूचकमा सुधार गर्ने तथा स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका नागरिकलाई सेवामा जोड्ने योजना बनाइएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
आर्थिक वर्ष २०८२/८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुबाट जिल्लामा रुन्टीगढी गाउँपालिका प्रथम भएको छ । लुङ्ग्री गाउँपालिका दोस्रो र सुनिलस्मृति गाउँपालिका तेस्रो भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य सस्थातर्फ थबाङ आधारभुत अस्पताललाई सर्वाेत्कृष्ट अस्पतालको रुपमा घोषण गरिएको छ । केवरी स्वास्थ्य चौकी प्रथम, नेर्पा स्वास्थ्य चौकी दोस्रो र मसिना स्वास्थ्य चौकी तेस्रो भएको छ ।
प्रत्येक पालिकामा अस्पताल सञ्चालन चुनौतीः मन्त्री पुन
नवनियुक्त स्वास्थ्य मन्त्रीको समेत कार्यक्रममा सहभागिता रहेको थियो । स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव चुनौतीको रुपमा रहेको बताउनुभयो । उहाँले प्रत्येक पालिकामा अस्पताल बनाउनु चुनौती बनेको धारण राख्नुभयो । ‘पहाडमा यहाँ १५–२० किलोमिटरको अन्तरमा हस्पिटल बनिरहेका छन् तराई तिर पाँच पाँच किलोमिटरको अन्तरमा हस्पिटल बनिरहेका छन्’, उहाँले भन्नुभयो ‘आज भग्नावशेषको रुपमा हस्पिटल परिणत भएको छ । न त्यहाँ जनशक्ति व्यवस्थापन गर्न सकिन्छ ।’ जिल्ला अस्पतालमा समेत जनशक्ति व्यवस्थापन चुनौती बनेको बताउँदै उहाँले सबै पालिकामा आधारभुत अस्पताल बनाउनमा चुनौती भएको धारणा राख्नुभएको थियो । यस विषयमा मन्त्रालयले सोचिरहेको उहाँको तर्क थियो ।






प्रतिक्रिया दिनुहोस्