रोल्पा,३०साउन। जिल्ला प्रशासन कार्यालय रोल्पाले जिल्लाका विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्दा एकद्वार प्रणाली अनिवार्य रूपमा लागू गर्न आग्रह गरेको छ ।
कार्यालयले शुक्रबार जारी गरेको सूचनामार्फत थबाङ गाउँपालिका–५ कोटलबारा तथा सुनछहरी गाउँपालिका–२ फलबाङ र गिच्छेमा मनसुनजन्य विपद्बाट प्रभावित नागरिकलाई राहत सामग्री उपलब्ध गराउने सम्बन्धमा एकद्वार प्रणाली अपनाउन अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन विभिन्न गैरसरकारी संघसंस्था, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा व्यक्तिरसमूहहरूले चासो र चिन्ता व्यक्त गर्दै विभिन्न माध्यमबाट सम्पर्क गरिरहेका छन्। राहत वितरण कार्यलाई व्यवस्थित, पारदर्शी, प्रभावकारी तथा दोहोरोपनरहित बनाउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ तथा प्रचलित कानुनबमोजिम एकद्वार प्रणालीबाट राहत तथा सहयोग व्यवस्थापन गर्ने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले जानकारी दिनुभयो ।
कार्यालयले सरकारी निकाय, स्थानीय तह, गैरसरकारी संघसंस्था, निजी क्षेत्र, सामाजिक संस्था तथा इच्छुक व्यक्ति वा समूहले विपद् प्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्नुपूर्व जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित स्थानीय तहसँग अनिवार्य समन्वय गर्न आग्रह गरेको छ ।
समन्वय नगरी राहत सामग्री वितरण गर्दा एउटै परिवार वा क्षेत्रमा दोहोरो राहत पुग्ने तथा वास्तविक प्रभावित छुट्न सक्ने सम्भावना भएकाले अभिलेखीकरणसहित राहत वितरण गर्नुपर्ने प्रशासनले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्