भरत विश्वकर्मा
रोल्पा ,२९साउन । अविरल वर्षापछि आएको पहिरोले रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा घर पुरिँदा तीन जना बेपत्ता भएका छन्।
शुक्रबार राति परेको अविरल वर्षाका कारण सुनछहरी गाउँपालिका–२ फलबाङमा स्थानीय वीरबहादुर घर्ती मगरको घरमा पहिरो खसेर घर पूर्णरूपमा पुरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे बिहान करिब ८ः१० बजे प्रहरी चौकी गाममा सूचना प्राप्त भएको थियो।
सूचना प्राप्त भएलगत्तै प्रहरी सहायक निरीक्षक मकर रासकोटीको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। टोली बिहान करिब ९ बजे घटनास्थलमा पुगेर प्रारम्भिक जानकारी लिँदा घरमा वीरबहादुर घर्ती मगर र उनकी श्रीमती शनि घर्ती मगर बस्दै आएको तथा छिमेकी ललि घर्ती मगरसमेत सोही रात घरमा बस्न गएको खुलेको प्रहरीले जनाएको छ।
पहिरोमा परी घरमा रहेका तीनै जना बेपत्ता भएको रोल्पा प्रहरीका सूचना अधिकारी कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा पहिरो हटाएर बेपत्ताको खोजी तथा उद्धार गर्ने कार्य भइरहेको उहाँले बताउनु भयो ।
यसैबीच सुनछहरी गाउँपालिका–२ कै गिट्ठेमा स्थानीय लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको जानकारी प्राप्त भएको छ। उक्त घटनास्थलतर्फ प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर पाण्डेको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
पहिरोबाट भएको क्षति, बेपत्ताको अवस्था तथा उद्धार कार्यबारे थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
बुधबार थबाङ गाउँपालिका ५ उवाको कोटलबारामा गएको पहिरोले १० ज्यानको ज्यान गएको छ भने ३ जना अझै बेपत्ता छन् ।





प्रतिक्रिया दिनुहोस्