मालश्री खबर, साउन २८रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा गएको भीषण पहिरोमा परी ३ जनाको मृत्यु तथा ८ जना बेपत्ता भएको घटनाप्रति लुम्बिनी प्रदेशसभा सदस्य जोखबहादुर महराले गहिरो दुःख व्यक्त गर्नुभएको छ।
प्रदेशसभा सदस्य महराले शोक वक्तव्य जारी गर्दै पहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। उहाँले पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।
बेपत्ताहरूको जीवनरक्षा पहिलो प्राथमिकता भएकाले सुरक्षाकर्मी, स्थानीय प्रशासन, जनप्रतिनिधि, स्थानीय समुदाय तथा सम्पूर्ण सरोकारवालालाई एकजुट भएर खोज तथा उद्धार कार्यमा सक्रिय हुन महराले अपिल गर्नुभएको छ।
वर्षायामका कारण रोल्पासहित लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोको जोखिम बढेको भन्दै उहाँले जोखिमयुक्त स्थानमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र विपद्को संकेत वा पूर्वसूचना पाए सुरक्षित स्थानमा जान आग्रह गर्नुभएको छ।
त्यस्तै, विपद्बाट प्रभावित परिवारलाई आवश्यक राहत तथा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढाउन सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूलाई आग्रह गर्दै जोखिमयुक्त बस्ती तथा क्षेत्रमा आवश्यक सतर्कता अपनाउन र यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन योजना तथा प्रभावकारी विपद् व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्नुभएको छ।
“शोकको यस कठिन घडीमा पीडित परिवारहरूको साथमा सम्पूर्ण प्रदेशवासी तथा म स्वयं पनि प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु,” महराले वक्तव्यमार्फत उल्लेख गर्नुभएको छ।
यसैबीच, प्रदेशसभा सदस्य महरा घटनाप्रति दुःख व्यक्त गर्दै घटनास्थल थबाङ गाउँपालिका–५ उवाको कोटलबारातर्फ प्रस्थान गर्नुभएको छ। घटनास्थलमा पुगेर उद्धार तथा राहत कार्यको अवस्थाबारे जानकारी लिने र प्रभावित परिवारसँग भेटघाट गर्ने बताइएको छ।






प्रतिक्रिया दिनुहोस्