मालश्री खबर
रोल्पा,२६साउन । सूचना तथा सञ्चार प्रविधिको बढ्दो प्रयोगले हुलाक सेवामा असर गरेको भनिए पनि हुलाक सेवाबाट पनि नागरिकको सेवा प्रवाहको काम भैरहेको छ । पछिल्लो समय सरकार हुलाक सेवालाई छिटो, छरितो सहित नागरिकको घरघरमै सेवा पुर्याउने उदेश्यका साथ काम गरिरहेको छ । जिल्ला हुलाक कार्यालय रोल्पाबाट आर्थिक वर्ष २०८२/८३ मा दश हजार भन्दा बढी चिठ्ठी पत्र तथा हुलाक सामग्री दर्ता भई वितरण भएको पाइएको छ ।
जिल्ला हुलाक कार्यालय रोल्पाले दिएको जानकारी अनुसार एक वर्षको अवधिमा दश हजार आठ हुलाक सामग्री दर्ता भएका हुन् । दर्ता भएका हुलाक सामग्रीहरु मध्ये सबैभन्दा धेरै रजिष्ट्री छ भने सबैभन्दा कम पुलिन्दा रहेको छ । आर्थिक वर्ष २०८२÷८३ मा दर्ता भएको हुलाक सामग्रीहरु मध्ये रजिष्ट्री ७ हजार ३९० जसमा आफ्नै जिल्लामा दर्ता भएको २ हजार ५०, अन्य जिल्लाबाट प्राप्त ५ हजार २७६ र विदेशबाट प्राप्त ६४ रहेको छ ।
त्यस्तै पत्रिका १ हजार ७१३ दर्ता भएकोमा आफ्नै जिल्लामा दर्ता भएको ७१६ र अन्य जिल्लाबाट प्राप्त ९९६ रहेको छ । साधारण चिठी ८२३ रहेकोमा आफ्नै जिल्लामा दर्ता १९८ र अन्य जिल्लबाट प्राप्त६३५ रहेको छ र पुलिन्दा ८२ दर्ता भएकोमा आफ्नै जिल्लामा दर्ताको संख्या ३२ र अन्य जिल्लाबाट प्राप्त ५० रहेको बताइएको छ । त्यसैगरी सोही अवधिमा हुलाक कार्यालयबाट दश हजार २८ हुलाक सामग्री वितरण तथा निर्यात गरिएको पाइएको छ । यस अवधिमा रजिष्ट्री २ हजार ३१३, साधारण चिठी ६३६, पत्रिका ९९६ र पुलिन्दा ५० आफ्नै जिल्लामा वितरण भएको छ भने रजिष्ट्री ५ हजार ७४, साधारण चिठी १८५, पत्रिका ७१६ र पुलिन्दा ३२ अन्य जिल्लामा निर्यात भएको पाइएको छ । साेअवधिमा रजिष्ट्री १९ विदेशमा समेत निर्यात भएको छ । यो अवधिमा रजिष्ट्री ६ वटा कार्यालयमै फिर्ता भएको बताइएको छ ।
हुलाकबाट हुने सेवा प्रवाह पहिलेभन्दा अहिले बढिरहेको हुलाक कार्यालय रोल्पाकी सूचना अधिकारी मनिषा रेग्मीले बताउनुभयो । कार्यालयको चिठीपत्र, सम्पत्ती विवरण पठाउने, राहदानी वितरण लगायतको कामहरु भैरहेको अवस्था छ, उहाँले भन्नुभयो । पछिल्लो समय हुलाकको प्रयोगबाट नागरिकको घरमै राहदानी वितरणको काम सुरु गरेपछि सेवा थप बढेको बताउनुभयो । हुलाक कार्यालयले सेवा प्रवाहलाई सहज बनाउन विभिन्न प्रयासहरु गरिरहेको जनाएको छ । कार्यालयले जिल्लाको माडी गाउँपालिका र सुनिलस्मृति गाउँपालिकामा रहेको हुलाक कार्यालयम पिप्स प्रविधि सञ्चालन गरेका जनाएको छ । जसले गर्दा सेवा प्रवाहलाई छिटो छरितो बनाउनमा सहज भएको कार्यालयले जनाएको छ । ‘पहिले हुलाक सामग्रीहरु हराउने समस्या हुन्थ्यो’, सूचना अधिकारी रेग्मीले भन्नुभयो ‘तर अहिले यो प्रविधिका कारण सहज भएको छ ।’ हुलाक कार्यालयले आर्थिक वर्ष २०८२/८३ को अवधिमा ५ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । जसमा टिकटबाट प्राप्त भएको आम्दानी ४ लाख ५२ हजार २० रुपैयाँ र बारकोटबाट प्राप्त भएको आम्दानी १ लाख ८ हजार ९८० रुपैयाँ रहेको छ ।





प्रतिक्रिया दिनुहोस्