रोल्पा, २६साउन। सुनिलस्मृति गाउँपालिका ७ तेबाङमा साढे २ करोड भन्दा बढीको लागतमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । संघिय सरकार र सुनिलस्मृति गाउँपालिकाको लागत साझेदारीमा २ करोड ६५ लाख ७ हजार रुपैयाँमा स्वास्थ्य चौकीको भवन बनेको हो । पुरानो र साघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको भवन निर्माण भएसँगै सेवा प्रवाह सहज बनेको छ ।
भवन निर्माण सुवर्णावती पदम जेभी रोल्पा नगरपालिका ४ रोल्पाबाट भएको हो । गाउँपालिकाले ३ करोड ८ लाख ५२ हजार ३९९ मा (मुअकर र पिएस समेत) सम्झौता गरेकोमा थियो । निर्माण कम्पनीले २०८० जेठ १७ मा कामको सम्झौता गरेकोमा २०८२ माघ १२ मा काम सम्पन्न गरेको थियो ।
सुनिलस्मृति गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष रेशम शर्मा रिजालको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकीको प्रमुख आतिथ्यतामा आज एक कार्यक्रमबीच स्वास्थ्य चौकी भवनको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहलगायत स्थानीयको उपस्थिति रहेको थियो । नवनिर्मित स्वास्थ्य चौकी भवन सञ्चालनमा आएसँगै स्थानीय नागरिकलाई स्वास्थ्य सेवा प्रवाहमा सहजता पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिइएको थियो । स्वास्थ्य चौकी भवन निर्माणका लागि स्थानीय नरेन्द्र रोकामगर र स्वर्गीय नुपेन्द्र रोकाको सम्झौनामा निशुल्क रुपमा जग्गा प्रदान गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्