Ad image

रोल्पाको सुनछहरीमा ६ सय वर्ष पुराना तामाखानीदेखि माओवादी स्कुलिङ स्थलसम्म, पर्यटनको नयाँ सम्भावना

malashree
malashree २३ श्रावण २०८३, शनिबार
2 Min Read
Aa

सुनिल बुढामगर, मालश्री खबर, साउन २३ रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–७ जेलबाङस्थित खिबाङ–रुल्बाङ क्षेत्रमा रहेका ऐतिहासिक तामाखानी तथा ‘दाउने गुफा’ पर्यटन, अध्ययन र अनुसन्धानका दृष्टिले महत्वपूर्ण स्थलका रूपमा देखिएका छन्।

खिबाङ–रुल्बाङ टोलको लेक सुब्याखान क्षेत्रमा तीन÷चार वटा पुराना तामाखानी रहेका छन्। स्थानीय विवरणअनुसार उत्खनन गरिएका यी तामाखानी करिब ६ सय वर्ष पुराना भएको अनुमान गरिएको छ। तीन तला बनाएर उत्खनन गरिएको खानीको बीचको तलामा हाल पनि करिब १ सय मिटरसम्म प्रवेश गर्न सकिन्छ।

खानीभित्र तामाको धाउ (रस) पाइने गरेको बताइएको छ। स्थानीय खाम भाषामा यसलाई ‘निनालकुती’ भनिन्छ र यसको प्रयोग औषधीय प्रयोजनमा समेत हुने स्थानीयको भनाइ छ। खानीको माथिल्लो तलामा विशेष उपकरणको सहायताबिना पुग्न कठिन छ भने तल्लो भाग लेदो मिसिएको ढुङ्गाले बन्द भएको अवस्थामा छ। आसपासका क्षेत्रमा थप तामाखानी हुन सक्ने स्थानीयको अनुमान छ।

- Advertisement -
Ad image

 

यस्तै, युपुरबाङको माथिल्लो भागमा विशाल ढुङ्गाभित्र अर्को तामाखानी रहेको बताइएको छ। त्यहाँ पुग्न पनि विशेष उपकरण आवश्यक पर्ने देखिन्छ। युपुरबाङको तल्लो क्षेत्रमा समेत अर्को तामाखानी रहेको स्थानीयको भनाइ छ। खिबाङ–रुल्बाङकै बाछेरिमुलको भिराले क्षेत्रमा दुई वटा ‘दाउने गुफा’ (अतर्ला सानो अदुङ्ला) रहेका छन्। तीमध्ये उपल्लो गुफा निकै ठूलो रहेको छ।सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन नेकपा (माओवादी) ले यही गुफामा एकहप्ते पार्टी स्कुलिङ कार्यक्रम सञ्चालन गरेको स्थानीय विवरणमा उल्लेख छ। अहिले भने गुफा वनमारा र सिस्नोले ढाकिएको अवस्थामा छ। गुफाभित्रका दाउने ढुङ्गामा विभिन्न आकृति देखिने भएकाले प्राकृतिक तथा ऐतिहासिक दृष्टिले समेत यी गुफा रोचक मानिन्छन्। सुनछहरीका तामाखानी, दाउने गुफा तथा अन्य ऐतिहासिक स्थलहरूको संरक्षण, अध्ययन र प्रचारप्रसार गर्न सके यस क्षेत्रलाई पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना देखिएको छ। प्राकृतिक स्रोत, पुरानो खानी प्रविधि, स्थानीय इतिहास, जनयुद्धसँग जोडिएका ऐतिहासिक पक्ष तथा गुफाभित्रका प्राकृतिक संरचनाले यस क्षेत्रलाई अध्ययन तथा अनुसन्धानका लागि समेत महत्वपूर्ण बनाउन सक्छन्।

उचित संरक्षण र व्यवस्थित पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्न सके यी स्थलहरू सुनछहरी गाउँपालिका मात्र नभई समग्र रोल्पाको पर्यटन विकासका लागि महत्वपूर्ण आधार बन्न सक्ने स्थानीयको विश्वास छ।

\

malashree

प्रतिक्रिया दिनुहोस्