रोल्पा, २१ साउन । रोल्पामा पूर्ण रुपमा आमाको मात्र दुध खुवाएकाको संख्या ८७ दशमलव ५१ प्रतिशत देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०८२÷८३ को तथ्याङ्क अनुसार २ हजार ७ सय ६ जना संस्थागत रुपमा सुत्केरी भएकोमा २ हजार ३ सय ६८ जना आमाले मात्र सन्तानलाई पूर्ण रुपमा दुध खुवाएको पाइएको हो ।
बच्चा जन्मेदेखि ६ महिनाको अवधिसम्ममा आमाको दुध मात्र खुवाउनु पर्ने भएपनि १२ दशमलव ४९ प्रतिशत आमाले ६ महिनाको अवधिसम्ममा पूर्ण रुपमा दुध नखुवाएको स्वास्थ्य कार्यालय रोल्पाका सूचना अधिकारी अरुण भिटु उपाध्यायले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय रोल्पाले दिएको जानकारी अनुसार जिल्लाको सुनछहरी गाउँपालिका १७५ आमा मध्ये ७४ दशमलव ५१ प्रतिशतले स्तनपान गराएको पाइएको छ । थबाङ गाउँपालिका ८६ आमा मध्ये ७९ दशमलव २३ प्रतिशत, परिवर्तन गाउँपालिका २०४ आमा मध्ये ९८ दशमलव ४६ प्रतिशत, गंगादेव गाउँपालिका २८५ आमा मध्ये ८३ दशमलव ५१ प्रतिशत, माडी गाउँपालिका १७५ आमा मध्ये ८७ दशमलव ६८ प्रतिशत, त्रिवेणी गाउँपालिका २५२ आमा मध्ये ९७ दशमलव १ प्रतिशतले स्तनपान गराएको पाइएको छ ।
त्यस्तै रोल्पा नगरपालिकामा ४६८ आमा मध्ये ७० दशमलव ०८ प्रतिशत, रुन्टीगढी गाउँपालिकामा ३५१ आमा मध्ये ९१ दशमलव ४८ प्रतिशत, सुनिलस्मृति गाउँपालिका ३२१ आमा मध्ये ९९ दशमलव ३७ प्रतिशत र लुंग्री गाउँपालिकामा ३८९ जना आमा मध्ये ९१ दशमलव ३६ प्रतिशत आमाले मात्र आफ्ना बालबालिकालाई ६ महिनाको अवधिसम्म नियमित रुपमा आमाको दुध खुवाएको पाइएको छ ।
रोल्पा अस्पतालका अस्पताल नर्सिङ निरीक्षक निर्जला घर्तिले बच्चा जन्मेको १ घण्टाभित्र र ६ महिनासम्मको अवधिमा पूर्ण रुपमा बच्चालाई आमाको दुध चुसाउन आवश्यक हुने बताउनुभयो । अस्पतालमा आउने गरेका आमाहरुलाई यसको बारेमा सचेतना फैलाउने गरेको उहाँको भनाई छ । पहिलेको हिसाबले पछिल्लो समय पूर्ण स्तनपान गराउनेको संख्यामा वृद्धि भएको छ उहाँले भन्नुभयो ।
विश्वव्यापी रुपमा अगष्ट १ देखि ७ सम्ममा स्तनपान सप्ताहको अवसरमा रोल्पामा पनि विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी मनाउने गरिएको स्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्