मालश्री खबर, साउन २० रोल्पा । लुङ्ग्री गाउँपालिकाका अध्यक्ष भरत कुमार थापा र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन करार सम्झौता सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको निर्णयअनुसार गाउँपालिकाको समग्र प्रशासनिक व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र नतिजामुखी बनाउने उद्देश्यका साथ उक्त करार सम्झौता गरिएको गाउँपालिकाले जनाएको छ।

करार सम्झौतामा गाउँपालिकाको समग्र व्यवस्थापन, योजना तथा कार्यक्रम सञ्चालन, बैठक व्यवस्थापन, स्रोत–साधनको प्रभावकारी परिचालन, वित्तीय अनुशासन, सेवा प्रवाहको गुणस्तर अभिवृद्धि तथा सुशासन प्रवर्द्धनलगायतका विषय समेटिएका छन्। गाउँपालिकाले कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्दै नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यसहित करार सम्झौता गरिएको जनाएको छ। यस सम्झौताले गाउँपालिकाको समग्र कार्यसम्पादनमा सकारात्मक सुधार ल्याई सुशासन, उत्तरदायित्व र विकास निर्माणका गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





प्रतिक्रिया दिनुहोस्