मालश्री खबर, साउन २० रोल्पा । रोल्पा नगरपालिकाले सातदोबाटो, लिबाङ हुँदै रेउघाससम्मको क्षेत्रलाई ‘गुलाफ शहर’ का रूपमा विकास गर्ने अभियान सुरु गरेको छ। नगरपालिकाले यस अभियानमार्फत क्षेत्रको सुन्दरता, सरसफाइ र पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको जनाएको छ।
रोल्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश घिमिरेका अनुसार लिबाङ क्षेत्रमा परम्परादेखि नै रैथाने जातका गुलाफ फुल्ने भएकाले यही विशेषतालाई पर्यटनसँग जोड्दै नयाँ पहिचान स्थापित गर्न खोजिएको हो । भालुबाङ–लिबाङ–थबाङ–रुकुमकोट सडकलाई पर्यटकीय मार्गका रूपमा विकास गर्ने योजना अन्तर्गत प्रदेश सरकारसँग समन्वय गरी अभियान अघि बढाइएको उनले बताए।
उनका अनुसार नगरपालिकाले यस क्षेत्रलाई भविष्यमा ‘ट्रान्स हिमालय हिल स्टेशन’ को अवधारणाअनुसार विकास गर्ने सोच बनाएको छ। त्यसका लागि प्राकृतिक सौन्दर्य, सरसफाइ र गुणस्तरीय पर्यटकीय सेवासँगै गुलाफलाई पहिचानका रूपमा स्थापित गर्न खोजिएको हो।
अभियानलाई सफल बनाउन नगरपालिकाले नागरिक सहभागितालाई प्राथमिकता दिएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत सदरमुकामस्थित सरकारी कार्यालय, वडा कार्यालय, विभिन्न संघसंस्था तथा स्थानीय निकायलाई साउन–भदौ महिनाभित्र गुलाफ रोप्न अनुरोध गरिएको छ। डिभिजन वन कार्यालयसँगको सहकार्यमा सार्वजनिक स्थानमा समेत वृक्षरोपण अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
सातदोबाटो क्षेत्रमा सामुदायिक वन, बजार व्यवस्थापन समिति, टोल सुधार समिति र स्थानीय समूहहरूसँग छलफल गरी गाउँ–टोललाई गुलाफले सजाउन आग्रह गरिएको छ। नगरपालिकाले सानो प्रयास र सामूहिक सहभागिताबाट क्षेत्रको सुन्दरता बढाउँदै पर्यटकीय आकर्षण सिर्जना गर्न सकिने विश्वास लिएको छ।
यस अभियानका लागि वडा नम्बर २, ३ र ४ का टोल सुधार समितिहरूलाई सक्रिय बनाइएको छ। स्थानीयको अपनत्व र सहभागिताबिना अभियान सफल नहुने भन्दै नगरपालिकाले वडा तहबाटै नेतृत्व लिन निर्देशन दिएको छ। प्रमुख प्रशासकीय अधिकृत घिमिरेले यो अभियान नगरपालिकाका लागि मात्र नभई प्रत्येक नागरिकले आफ्नो घरपरिसर सुन्दर बनाउने अभियान भएको उल्लेख गर्दै सबै स्थानीय, क्लब, समूह र सञ्चारमाध्यमको साथ आवश्यक रहेको बताए।





प्रतिक्रिया दिनुहोस्