मालश्री खबर, साउन १५ रोल्पा
रोल्पाको सुनिलस्मृति गाउँपालिका–५ बयरबोटस्थित ऐलानी भिरको ओडारबाट प्रहरीले दुई थान भरुवा बन्दुक फेला पारेको छ।
प्रहरीका अनुसार २०८३ साउन १३ गते बिहान करिब ११ः४५ बजे बयरबोट ऐलानी भिरको ओडारमा भरुवा बन्दुक बेवारिसे अवस्थामा रहेको सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अनिलकुमार चौधरीको कमाण्डमा ६ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
प्रहरी टोलीले खोजतलासका क्रममा दुई थान भरुवा बन्दुक फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। बरामद हतियारको रीतपूर्वक मुचुल्का तयार गरी आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय सुलिचौरतर्फ ल्याइएको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय सुलिचौरबाट करिब ३० किलोमिटर उत्तर–पूर्वमा पर्ने प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ। रोल्पाका विभिन्न स्थानमा पछिल्लो समय बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पर्ने क्रम देखिएको छ।





प्रतिक्रिया दिनुहोस्