रोल्पा,१०असार । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमको दम्माङ भीरबाट झरेको पहिरोमा परी दुई जनाको ज्यान गरेको घटना प्रति सुनछहरी गाउँपालिकाले दुख व्यक्त गरेको छ ।
शनिबार दिउँसो करिब २ बजे पहिरोमा परी सुनछहरी–१ सेरम निवासी ४९ वर्षीय अमिरा घर्तीमगर र ५५ वर्षीय असोजी घर्तीको मृत्यु भएको हो।
पहिरोमा परी स्थानीय बासिन्दाका गोठ तथा पशुचौपायामा समेत क्षति पुगेको छ। घटनामा परी घाइते भएका ६३ वर्षीय कुलबहादुर घर्तीमगरको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर पुनले दुख व्यक्त गर्नुभएको छ ।
घटनामा परी ८ वटा गोरु र ५ वटा बाख्रासहित अन्य पशुचौपाया समेत पुरिएको पुष्टि भएको छ। प्राकृतिक विपत्तिका कारण भएको क्षतिको आवश्यक राहतका लागि कानुनी प्रक्रिया अघि बढाउने गाउँपालिकाले जनाएको छ। वर्षायाममा जोखिमयुक्त स्थानमा बसोबास नगर्न र जोखिम क्षेत्रमा मानवीय गतिविधि नगर्न गाउँपालिकाले सम्पूर्ण समुदायलाई आग्रह गरेको छ।





प्रतिक्रिया दिनुहोस्