मालश्री खबर, साउन ०९ रोल्पा । लुम्बिनी प्रदेशसभा सदस्य जोखबहादुर महराले रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दबाङ क्षेत्रमा पहिरोमा परी दुई जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। साउन ८ गते गाई–बाख्रा चराउन गएको क्रममा माथिबाट आएको पहिरोमा परी स्थानीय असेनी वर्तीमगार र अमरा वर्तीमगार को मृत्यु भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावकारी उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।
महराले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित परिवारलाई आवश्यक राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित सरकारी तथा सुरक्षा निकायसँग अनुरोध गर्नुभएको छ। साथै, पहिरोको जोखिममा रहेका बस्तीहरूमा आवश्यक सतर्कता अपनाई यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन योजना र प्रभावकारी व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ। शोकको यस घडीमा सम्पूर्ण प्रदेशवासी आफू पीडित परिवारसँगै रहेको विश्वास व्यक्त गर्दै उहाँले दिवंगत आत्माप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।






प्रतिक्रिया दिनुहोस्