सुर्य प्रकाश बुढा मगर, ९ साउन रोल्पा। रोल्पामा चारदिन देखि सामाजिक सञ्जालमा भाइरल भएका तीन बालिकाले उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका छन् । रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ टोलबाङका ती बालिकाले सुर्पाल बजारमै रहेको एडभान्स चाइल्ड केयर सेन्टरमा कक्षा-६ सम्म नि:शुल्क अध्ययन गर्न पाउने भएका हुन ।
अहिले बालिकाहरूले सेन्टरमा एलकेजी,नर्सरी र एक कक्षामा अध्ययनरत रहेका छन् । कक्षा-७ देखि उच्च शिक्षासम्म रुन्टिगढी गाउँपालिकाले अध्ययन गराउने भएको छ । समाजसेवी तथा पत्रकार भुवन थापाको समन्वयमा शुक्रबार रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुन,सुर्पाल बजारस्थित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कुलका प्रिन्सिपल तेज बहादुर पुन र भिडियो खिच्ने लोकेन पुन लगायतका व्यक्ति ती बच्चाहरुको घरमा पुगेका थिए ।
तीनै बालिकाका बुवाहरू रोजगारीका सिलसिलामा विदेश रहेका छन् । घरमा पुगेर तीनै बालिकाका आमाहरूसँग उच्च शिक्षासम्म नि:शुल्क अध्ययन गर्न पाउने सहमति भएको समाजसेवी तथा पत्रकार भुवन थापाले जानकारी दिए ।
“हामी हिजो तीनै बालिकाको घरमा अभिभावक भेट्न स्थानीय सरकारका प्रमुख, बोर्डिङका प्रिन्सिपल र भिडियो भाइरल गराउने व्यक्ति लगायत घरमा पुगेका थियौं र घरमा गएर उच्च शिक्षासम्म नि:शुल्क पढाउने सहमति भयो,”पत्रकार थापाले भने । सहमति अनुसार सम्बन्धित एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कूलले कक्षा ६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । “हामीले यी तीन बच्चालाई कक्षा-६ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने हाम्रो प्रतिवद्धता भयो,”एडभान्स चाइल्ड केयर इङलिस बोर्डिङ स्कूलका प्रिन्सिपल तेज बहादुर पुनले भने ।
कक्षा-७ देखि उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी गाउँपालिकाले लिने रुन्टिगढी गाउँपालिकाका अध्यक्ष प्रमुख जनक पुनले बताए । “उच्च शिक्षासम्मको अध्ययनका लागि आवश्यक व्यवस्था र जिम्मेवारी हाम्रो रहन्छ यो मेरो प्रतिबद्धता हो,”गाउँपालिका अध्यक्ष पुनले भने। पानी परिरहेको मौसममा रेनकोट ओढेर उकालो हिँडिरहेका तीन जना बच्चाहरुको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका एकनासका देखिने बच्चाहरु आफ्नै सुरमा उकालो बाटो हिँडिरहेको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।





प्रतिक्रिया दिनुहोस्