मालश्री खबर, साउन ६ रोल्पा । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोईरालाकोे योगदानको स्मरण गरी रोल्पाको लिबाङमा ४४ औं स्मृति दिवस मनाइएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले क्रियासिल सदस्यता वितरण तथा अध्यावधिक सम्बन्धी जानकारी एवं जरा अभियानको समापन कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
कांग्रेस जिल्ला कार्यसमिति रोल्पाका पार्टी सभापति किशोर कुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यक किरण किशोर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बी.पी. कोइराला योगदानको बारेमा बक्ताहरु कांग्रेस जिल्ला कार्यसमिति रोल्पा पूर्व पार्टी सभापति माधव प्रसाद आचार्य, पूर्व सांसद लेखनाथ आचार्य र प्रमुख अतिथि किरण किशोर घिमिरे बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव शेरबहादुर थापाले गर्नुभएको थियो ।
वि.सं. २०१५ को आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि कोईराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । उहाँले आफ्नो कार्यकालमा बिर्ता उन्मूलन र ‘जमीन जोत्नेको’ भन्ने क्रान्तिकारी भूमिसुधार कार्यक्रम कार्यान्वयनमा ल्याउनुभएको थियो ।
राजनीतिसँगै नेपाली साहित्यमा पनि कोईरालाको विशिष्ट स्थान रहेको छ। उहाँका ‘दोषी चश्मा’ (कथा सङ्ग्रह), ‘तीन घुम्ती’, ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘मोदीआइन’ र ‘हिटलर र यहुदी’ जस्ता चर्चित उपन्यासहरू प्रकाशित छन्। नेपाली साहित्यमा उहाँलाई ‘मनोवैज्ञानिक यथार्थवादी’ धाराका प्रवर्तक मानिन्छ।
नेपालमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष गरेका कोईरालाको स्मृतिमा ‘वीपी स्मृति दिवस’ मनाइन्छ ।





प्रतिक्रिया दिनुहोस्