मालश्री खबर, साउन ६ रोल्पा । रोल्पाकाे लिबाङमा बुधबार सवारी दुर्घटना तथा लागू औषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाको आयोजना, जिल्ला प्रशासन कार्यालय रोल्पा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको समन्वयमा सामुदायिक-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले जिल्लामा सवारी साधनको चाप बढ्दै गएको र अव्यवस्थित पार्किङका कारण नागरिकले आवतजावतमा सास्ती खेप्नुपरेको बताउनुभयो। साँघुरा सडकमा जथाभावी सवारी सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले ट्राफिक नियमको पूर्ण पालना गर्दै सुरक्षित रूपमा सवारी चलाउन उहाँले चालकहरूलाई आग्रह गर्नुभयो ।
उहाँले लागू औषधको सेवनले व्यक्तिलाई मृत्यु तथा विभिन्न नकारात्मक गतिविधितर्फ धकेल्ने भएकाले युवापुस्ताले सिर्जनात्मक र सकारात्मक कार्यमा संलग्न हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
यस्तै विशिष्ट अतिथि गंगा बहादुर क्षेत्रीले रोल्पामा सडक पहुँच अझै सहज नभएको र पहुँच पुगेका स्थानमा पनि साँघुरा सडकका कारण नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताउनुभयो। अधिकांश दुर्घटना ओभरलोडका कारण हुने गरेको बताउदै सवारी साधनको क्षमता अनुसार मात्र यात्रु बोक्न र चालकले जिम्मेवारीपूर्वक सवारी सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
क्षेत्रीले गलत संगतका कारण पछिल्लो समय लागू औषध दुर्व्यसन समाजमा गम्भीर समस्याका रूपमा देखापरेको भन्दै अभिभावक, शिक्षक तथा समुदायको संयुक्त प्रयासबाट युवापुस्तालाई कुलतबाट जोगाउन सकिने धारणा राख्नुभयो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले ट्राफिक नियमको पूर्ण पालना गरे सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने बताउनुभयो।
उहाँले लागू औषधको असर एक व्यक्तिमा मात्र सीमित नभई परिवार र समग्र समाजमा पर्ने भएकाले सबै नागरिक सचेत बन्न र अरूलाई पनि सचेत गराउन आग्रह गर्नुभयो। लागू औषधसँग सम्बन्धित कुनै गतिविधिको जानकारी भएमा तत्काल प्रहरी वा सम्बन्धित निकायलाई सूचना दिन समेत उहाँले अनुरोध गर्नुभयो।





प्रतिक्रिया दिनुहोस्