मालश्री खबर, वैशाख १६ रोल्पा ।
रोल्पाको लुङ्ग्री गाउँपालिका वडा नं. ४ ठुलो नम्जामा आज साँझ करिब ५ बजेतिर आएको भीषण हावाहुरीका कारण एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
स्थानीय डोर बहादुर सुनारको जस्ताले छाएको एकतले घर हावाहुरीले उडाइदिँदा परिवार ठूलो समस्यामा परेको हो। घरमा बसोबास गर्दै आएका सुनार दम्पती र उनका दुई छोरासहित चार जनाको परिवार अहिले छिमेकीको घरमा आश्रय लिएर बस्न बाध्य भएका छन्।
हावाहुरीका क्रममा उडेको जस्ता छिमेकीको छोरीको अनुहारमा लाग्दा उनी घाइते भएकी छन्। उनको दायाँ र बायाँ गालामा चोट लागेको बताइएको छ। अचानक आएको यस प्राकृतिक विपत्तिले प्रभावित परिवारलाई मात्र नभई स्थानीय बासिन्दालाई समेत त्रसित बनाएको छ। स्थानीय तहबाट राहत तथा सहयोगको अपेक्षा गरिएको छ।






प्रतिक्रिया दिनुहोस्