मालश्री खबर, वैशाख १६ रोल्पा । अस्थायी ट्राफिक प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय सुलिचौरको सक्रियतामा सुलिचौर क्षेत्रमा यात्रुको सहजता तथा सुरक्षालाई मध्यनजर गर्दै सवारी साधनमा जडान गरिएका अवैध छत हटाइएको छ ।
स्थानीय स्तरमा सञ्चालनमा रहेका केही पिकअप तथा अन्य सवारी साधनहरूले क्षमताभन्दा बढी यात्रु बोक्ने उद्देश्यले छत तथा फलामे संरचना जडान गरेको पाइएपछि संयुक्त प्रहरी टोलीले अनुगमनलाई कडाइ गर्दै उक्त संरचना हटाउने अभियान सञ्चालन गरेको हो ।
प्रहरीका अनुसार सवारी साधनको छतमा यात्रु बोक्नु अत्यन्त जोखिमपूर्ण हुने भएकाले यस्ता अवैध संरचना हटाएर दुर्घटनाको सम्भावना न्यूनीकरण गर्न पहल गरिएको हो। “यात्रुको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो, नियमविपरीत जडान गरिएका संरचना सह्य हुँदैनन्,” अस्थायी ट्राफिक प्रहरी पोष्टले जनाएको छ ।
स्थानीयवासीहरूले पनि यात्रु सुरक्षाका लागि गरिएको यस कार्यलाई सकारात्मक रूपमा लिँदै निरन्तर निगरानी र कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । प्रहरीले आगामी दिनमा पनि नियमविपरीत सञ्चालन हुने सवारी साधनमाथि कडा निगरानी राखी आवश्यक कारबाहीलाई निरन्तरता दिने जनाएको छ।





प्रतिक्रिया दिनुहोस्