रोल्पा,१५ वैशाख । सुनछहरी गाउँपालिका ४ स्युरीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।स्युरी स्वास्थ्य चौकीको आयोजना तथा सुनछहरी गाउँपालिका ४ स्युरी वडा कार्यालय र स्वास्थ्य कार्यालय रोल्पाको सहयोग र सहकार्यमा एक दिने स्वास्थ्य शिविर सञ्चालन भएको हो ।
दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको शिविरमा ठूलो संख्यामा स्थानीय नागरिकले सेवा लिएका छन् । शिविरमा डाक्टर द्धारा स्वास्थ्य चेकजाँच गर्नुका साथै मृगौला रोग,मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), पोषणको लेखाजोखा तथा पाठेघरको मुखको क्यान्सर लगायतको परीक्षण गरी बिरामीहरुलाई आवश्यक सल्लाह र उपचारसम्बन्धी निर्देशन प्रदान गरिएको
थियो ।
स्वास्थ्य शिविरमा रोल्पा अस्पतालका चिकित्सक डा.ऋषभ गौतम, नर्सिङ अधिकृत लक्ष्मी पौडेल, वरिष्ठ नर्सिङ निरीक्षक शर्मिला आचार्य, ल्याब असिस्टेन्ट पुर्वान बस्नेत र सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रका वरिष्ठ ल्याब असिस्टेन्ट बलप्रसाद बुढाले सेवा प्रदान गरेका थिए ।
शिविरमा २१७ जना सेवाग्राहीको मृगौला, मधुमेह, रक्तचाप तथा पोषणसम्बन्धी जाँच गरिएको थियो भने १०७ महिलाको पाठेघर परीक्षण गरिएको थियो । परीक्षणको क्रममा २ जनाको पिसावमा प्रोटिन देखिएको, १ जनामा मधुमेह, ११ जनामा उच्च रक्तचाप, १ जनामा पोजिटिभ तथा ५ जनामा पाठेघर सम्बन्धी समस्या पाइएको थियो ।
पाठेघर सम्बन्धी समस्या देखिएकोमा शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।





प्रतिक्रिया दिनुहोस्