Ad image

रोल्पाको मुख्य व्यापारिक केन्द्र सुलिचौरको इतिहास

मालश्री खवर
मालश्री खवर २४ बैशाख २०८१, सोमबार
3 Min Read
Aa

अमर अधिकारी/ वैशाख २४ गते रोल्पा ।

पछिल्लो समय सुलिचौर बजार रोल्पाको प्रमुख ब्यापारिक केन्द्रको रुपमा परिचित भएको छ। २०४० सालसम्म त्यहाँ एउटा मात्र कपडा पसल थियो। यो लेखक खुंग्रीबाट आमासँग मावल सिर्प र हजुरआमासँग बुढोमावल नम्जा जाने क्रममा कैयन पटक सुलिचौर र रुइनिबाङ हुँदै पैदल यात्रा गर्दाको सम्झना अझै ताजै छ। सुलिचौर र रुइनिबाङमा अहिले गल्लीहरु समेत छन्। त्यो बखतको सुलिचौर र अहिलेको सुलिचौरमा आकाश जमिनको फरक छ। त्यतिबेला सुलिचौरमा दुई चारओटा घर मात्र देखिन्थे। अलि तल हेल्थपोष्ट थियो। विद्यालय बजार चलेपछि मात्र स्थापना भएको थियो।
कुनै समय सुलिचौरको नाम परिवर्तन गर्ने कोशिश भए पनि त्यो सफल हुनसकेन। हेल्थपोष्टको साइनबोर्डमा श्रीचौर भनेर उल्लेख गरिएको भए तापिन त्यो दीगो हुन सकेन। बजारको नाम हालसम्म सुलिचौर नै कायम छ। दक्षिणतिरबाट सुलिचौर आउनुअघि छिर्ने भन्ने सानो गाउँ छ। हाल छिर्नेलाई प्रवेशनगर भनेर पनि भनिन्छ। मोटरबाटो खुल्नुभन्दाअघि छिर्नेभन्दा अलि दक्षिणमा रहेको बाटोछेउँमा एउटा ठूलो ढुंगामुनि निहुरिएर बाटो हिँड्नुपर्दथ्यो। ढुंगामुनिबाट छिरेर जाने गाउँ भएकोले त्यस बस्तीको नाम छिर्ने भएको भन्ने बुढापाकाको भनाई रहेको थियो। हाल मोटरबाटोले गर्दा त्यो ढुंगो लगायत पुराना पहिचानहरु मेटिए।

यो लेखक खुंग्रीबाट नम्जा र सिर्प जाँदा चार पाँच घन्टा लगाएर हिँड्नुपरेको स्मरण ताजै छ। सुलिचौरमा ढिकढिकै हिँड्ने एउटा मात्र गोरेटो थियो। रुइनिबाङमा घर देखिदैनथे, दुइटा गोठ भने देखिन्थे। २०४० सालपछि सुलिचौर हुँदै लिबाङतर्फ फाट्टफुट्ट ट्रेक्टर गुड्नथालेपछि सुलिचौरमा पसलहरु चल्नथाले। खाद्य संस्थानको डिपो र साल्ट ट्रेडिङको नूनको डिपो सञ्चालनमा आएपछि सुलिचौर बजारमा ब्यापारिक सम्भावना देख्नेहरुले त्यहाँ पसल सञ्चालन गर्ने सोँच बनाउँदै आए। शुरुशुरुमा सुलिचौरमा खुमेल र सिर्पका स्लेट ढुंगाले छाएका घरहरु बने। आधुनिकिकरणसँगै स्लेट ढुंगाले छाएका पुराना घरहरु भत्काएर पक्की घरहरु बन्नथाले।

यात्रुवाहक र मालवाहक गाडीहरु चल्नथालेपछि सुलिचौर बजारले अझै तीब्रता लिनथाल्यो। पसलहरु धममाधम खुल्नथाले। उत्तरभेगतिरका विशेषगरि बाइसखुवातिरका स्थानीयहरुले सुलिचौरमा गाउँगाउँबाट भाँगो, भटमास र सिमी ल्याएर विक्री गर्नथाले र स्थानीयको आय आर्जन हुनथाल्यो। यो लेखकले कुनै बखत २५ रुपियाँमा किनेको सिमीको मूल्य हाल २५० रुपियाँ पुगेको छ। ब्यापारीहरुले सिधै गाउँबाट सिमी, भटमास र भाँगो बुटवल लगायतका शहरमा लैजाने हुँदा ती उपज हाल सुलिचौर बजारमा महंगो हुन गएको स्थानीय ब्यापारीहरु बताउँछन्।

- Advertisement -
Ad image

सुलिचौर बजारमा सदरमुकाम लिबाङमा भन्दा बढी चहलपहल देखिन्छ। रोल्पाका सबै गाउँपालिकाका मुकामहरुमा बजार विस्तार भएसँगै सदरमुकाम लिबाङमा चहलपहल कम देखिन्छ। लिबाङमा जग्गाको भाउ जस्ताको त्यस्तै छ भने सुलिचौरबजारमा जग्गाको भाउ बढेको बढ्यै छ। साविक मिझिङ गा. वि. स. र हाल सुनिल स्मृति गाउँपालिका अन्तर्गत वडा नं. ४ मा अवस्थित सुलिचौर बजारमा हालका दिनमा पसलहरुको संख्या ज्यादा हुँदा खासै ब्यापार हुन छोडेको ब्यापारीहरु बताउँछन्। बाटो विस्तार र गाडीहरुको सुविधासँगै गाउँगाउँमा पसलहरु खुल्नथालेपछि सुलिचौर बजार सुस्ताएको छ। बजारमा बैंक तथा वित्तीय संस्थाहरु समेत रहेको हुँदा मिटरब्याजीहरुबाट हुने गरेको शोषणबाट राहत पुगेको पनि कसैकसैले बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

Array